कालोपत्रे सडक २० हजार किमि नाघ्यो, बाह्रै महिना चल्न धौ-धौ

काठमाडौं । नेपालको भौतिक पूर्वाधार विकासमा परिमाणात्मक फड्को मारिए पनि गुणस्तर कायम गर्न नसकिएको अर्थ मन्त्रालयले स्वीकार गरेको छ । सोमबार मन्त्रालयले सार्वजनिक गरेको देशको पछिल्लो आर्थिक तथा भौतिक पूर्वाधारको स्थिति पत्रले यस्तो औंल्याएको हो ।  मन्त्रालयका अनुसार पछिल्लो एक दशकमा सडक सञ्जालको विस्तारमा उल्लेख्य प्रगति देखिएको छ । तर, ती सडकहरू सुरक्षित र बाह्रै महिना सञ्चालनयोग्य हुन नसक्नु मुख्य चुनौतीका रूपमा देखिएको छ । तथ्याङ्कअनुसार वि.सं. २०७२ मा नेपालमा कालोपत्रे सडकको लम्बाइ ११ हजार ७९८ किलोमिटर मात्र रहेकोमा वि.सं. २०८२ सम्म आइपुग्दा यो बढेर २० हजार २०२ किलोमिटर पुगेको छ । जसमा २०७२ मा प्रतिवर्ग किलोमिटर ०.०८ किलोमिटर सडक घनत्व छ भने २०८२ मा प्रतिवर्ग किलोमिटर ०.१४ किलोमिटर सडकको घनत्व रहेको देखिन्छ । यसरी हेर्दा सडकको घनत्वमा पनि सुधार देखिएको छ ।   

चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माण सुरु, राष्ट्रपति पौडेलले गरे शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो ।      गत पुसमा उक्त उद्यानको विस्तृत परियोजना प्रतिवेदन भानु नगरपालिकाले स्वीकृत गरेको थियो । यस ठाउँलाई सप्तधामका रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।      स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।      उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने उनले बताए । हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ ।      उनले भने, 'गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन, अनुसन्धानका सुविधाहरू विकास गरिने अपेक्षा गरिएको छ ।'      सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, 'राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भ अनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।'      साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।      भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ ।     

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।       हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।      बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए ।      'बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिदाँसम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पुर्याएका छौँ,' उनले भने, 'टेलरेस टनेल खन्न थालेको सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युत्गृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी गरेको छ ।' म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११ दशमलव नौ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा सङ्कलन गरी ७१० मिटर लामो ‘पाइपलाइन’बाट ल्याइने पानीलाई तीन हजार छ सय मिटर लामो सुरुङमा हालिनेछ् । पुनः ७५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने पौडेलले जानकारी दिए ।  ‘रन अफ रिभर’ प्रकृतिको आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनकलाइन्ट टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’का संरचना रहनेछन् । विद्युत्गृहमा तीन वटा युनिट ‘टर्वाइन’ रहनेछन् ।      आयोजनाबाट प्रतिघण्टा सुक्खायाममा ११७ दशमलव ८२ र बर्खायाममा २६४ दशमलव ४५ गिगावाट विद्युत् उत्पादन हुनेछ ।       बगर र तातोपानीको बीचमा रहेको पहाडमा बाहिरी भागबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युत्गृह बनाउन लागिएको हो । बगरदेखि १६ दशमलव पाँच किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउनका लागि १३२ केभी क्षमताको ‘डबल र मल्टीसर्किट’ प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए ।  प्रतिमेगावाट रु २० करोडका दरले रु १३ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालन भएको हो भने इलेक्ट्रोमेकालिक र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेका आयोजना व्यवस्थापक प्रमेश थापाले बताए ।      केही दिनमा भैँसीखर्कमा नेपाली सेनाको ‘क्याम्प’ (आधार शिविर) राख्ने तयारी भएको छ । विस्फोटक पदार्थको सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राखेपछि मुख्य सुरुङ खन्ने तयारी गरिएको हो । रासस