डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

काठमाडौं । कर्णाली प्रदेशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको १०६ मेगावाट क्षमताको जगदुल्ला अर्ध-जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका-४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानी तथा स्वामित्वमा अघि बढेको यो आयोजना डोल्पा मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक विकास र ऊर्जा आत्मनिर्भरताका लागि कोशेढुंगा बन्ने बताए । उनले आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सफल कार्यान्वयनका लागि सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे । ऊर्जा मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको साथ र सहयोगकै कारण आयोजना सहज रूपमा अघि बढिरहेको बताउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सबै निकायको सहजीकरण आवश्यक रहेको बताइन् । जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजना विद्युत् उत्पादनसँगै डोल्पाको आर्थिक, सामाजिक र पूर्वाधार विकासको प्रमुख आधार बन्ने बताए । उनका अनुसार सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमुना परियोजनामध्ये एक हो । कम्पनीका अनुसार लट–१ को काम सम्पन्न भइसकेको छ भने १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई आयोजना विकास भइरहेका छन् । आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको पूर्वाधार विकासमा पनि ठूलो योगदान पुर्‍याएको कम्पनीको दाबी छ । आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी-मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकिएको छ । यी पूर्वाधारले स्थानीयको आवागमन सहज बनाउनुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई समेत गति दिएको कम्पनीले जनाएको छ । सडक पहुँच विस्तारसँगै नेपालगञ्ज-डोल्पा यात्रा, जुन पहिले तीन दिनभन्दा बढी लाग्थ्यो, अहिले एकै दिनमा सम्भव भएको कम्पनीको दाबी छ । यसले रारा, शे-फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुतर्फको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र स्थानीय तहले वार्षिक करिब ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ । कम्पनीका अनुसार आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन तथा आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ। कुल करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने परियोजनामा सरकारी निकायको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।

रसुवागढीको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा, चीनबाट फेरि भित्रिन थाले सामान

काठमाडौं । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् ।  चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् । नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो ।  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो ।  उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ/छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो ।  पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ ।  पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।  चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिए । पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा  माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उनले आग्रह गरे ।   उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् ।  पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताए । उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन  भन्सार हातामा पुगेका छन् । (

नेप्सेमा कालंगा र सानिगाड हाइड्रो सूचीकृत, आजदेखि कारोबार खुल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो र सानिगाड हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । नेप्सेका अनुसार कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता र सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत गरिएको हो । कालंगा हाइड्रोले सर्वसाधारणमा जारी गरेको ४९ लाख कित्ता र संस्थापक सेयरधनीको ९१ लाख कित्ता गरी कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत गराएको हो । त्यस्तै, सानिगाड हाइड्रोले सर्वसाधारणमा जारी गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक सेरधनीको १ करोड ९९ लाख ५० हजार कित्ता गरी कुल २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत गराएको हो । अब यी दुवै कम्पनीको सेयर आज बिहीबार स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भएपछि नियमित बजारमा कारोबारमा आउनेछन् । पहिलो कारोबारका लागि नेप्सेले कालंगा हाइड्रोलाई ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यस्तै, सानिगाड हाइड्रोपावरका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।