जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृति भई आएका ९४ वटा योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भई अहिलेसम्म ५० बाट योजना निर्माण सम्पन्न भएका छन् । नौ योजना ठेक्का भई हालसम्म सात वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिए । उक्त योजनामध्ये यहाकाँ आठवटै स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिँचाइका ७३ वटा योजना रहेका छन् । १७ वटा योजना तटबन्धन र खानेपानीका २५ वटा योजना यो आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख महतको भनाइ छ । खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी योजनालाई विशेष प्राथमिकतामा राखेर योजनालाई कार्यान्वयन गरिने भएको छ । कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट यहाँका जमिनमा सिँचाइ सुविधा विस्तार भई खेतीयोग्य जमिनमा स्तरोन्नति भएको छ । चालु आवको जेठसम्म कूल बजेटको पुँजीगत खर्च करिब ५० प्रतिशत खर्च भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ । रासस 

माउन्ट एभरेष्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज असार ८ गते अन्तिम दिन रहेको छ । असार ३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालियो, १५ दिनभित्र परीक्षण उत्पादनको तयारी

काठमाडौं । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो ।  रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्नेक्रम जारी रहेको जनाउँदै छ किलोमिटर दुई सय ७० मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताए । ‘पहिलो दिन एक हजार ६०० मिटर सुरुङमा पानी भरेका छौं ।  करिब चार दिनमा सबै सुरुङमा पानी भरेर १५ दिनपछि सञ्चालन योग्य बनाउने कार्यतालिका छ’, उनले भने, ‘सात वर्षको प्रयासपछि यो आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छौं ।’ यसअघि बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण भइसकेको आयोजनाले करिब १५ दिन सुरुङमा पानी भरेपछि कुनै समस्या नआएमा त्यसलगत्तै विद्युत्गृहमा रहेका २०/२० मेगावाट क्षमताका दुईमध्ये एक वटा युनिटबाट परीक्षणका लागि विद्युत् उत्पादनको तयारी गरिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको छ । भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उनले बताए । तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो। पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौँथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए । कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो ।   भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।  कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो ।  पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।  राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।