जनता बैंकले दोरम्बामा गर्यो निःशुल्क स्वास्थ्य शिविर, १ हजार बढीको स्वास्थ्य परीक्षण

काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नु पर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

स्पार्क अस्पतालले मनायो २७ औं वार्षिकोत्सब, विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो मध्ये एक स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सब मनाएको छ । वार्षिकोत्सब कै अवसर पारेर अस्पतालले सोही अस्पताल उपचारपछि निको भएका विरामीहरुको विचार, उनीहरुको भोगाई र उनीहरुको अस्पताल बसाईबारेमा समेटेर तयार पारेको ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरेको छ । सोल्टीमोडस्थित अस्पताल प्राङ्गणमा भएको उक्त कार्यक्रममा सोही अस्पतालमा उपचार पछि निको भएका बिरामीहरुलाई अथिति बनाइएको थियो । कार्यक्रममा बोल्दै कलाकार एवं पत्रकार शैलेन्द्र सिंखडाले आफ्नै विरामीलाई अगाडि बढाएर फरक कार्यक्रम गरेको भन्दै प्रशंशा गरे । योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्दतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु ठूलो उपलब्धि भएको बताए । प्राकृतिक चिकित्सा पद्दतिका अस्पताल आजको दिनमा समेत टिक्ट गाह्रो रहेको उल्लेख गर्दै उनले भने–‘यस्तो अवस्थामा स्पार्क अस्पतालले पाएको सफलता प्रशांशा योग्य छ । यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्छ ।’ कार्यक्रमका सभापति तथा अस्पतालको अध्यक्ष टंकनाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दा पनि सहयात्रीहरुको कारणले सम्भव भएको र विरामीहरुको विश्वास र मायाको कारणले सम्भाव भएको बताए । कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिईयो । त्यस्तै विगत २६ वर्षदेखि स्पार्क अस्पतलाले सञ्चालन गरेको योग कक्षामा सहभागी भई आएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो । पुस्तक विमोचन कार्यक्रमपछि अस्पतालबाट निको भएका विरामी केदार भट्टराईले ३२ दिन अस्पताल बस्दाको क्षण अविस्मरणीय रहेको बताए । ‘प्यारालाईलिस भएर आफू अब जीवनभरका लागि थला परे भन्ने सोचेको थिएँ । तर, अस्पतालले नयाँ जीवन दिएको छ । मैले यस अस्पतालको प्रशंशा शब्दमा गर्न सक्दिन’ उनले भने । वार्षिक उत्सावकै अवसरमा नेपाली स्वस्थ्य क्षेत्रमा अनवर कलम चलाउदै आएका पत्रकार अतुल मिश्रलाई पनि सम्मान गरिएको छ ।

कीर्तिपुरमा १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बन्दै

काठमाडौं। कीर्तिपुर नगरपालिकाले १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बनाउने भएको छ । नगरपालिकाले कीर्तिपुर नगरपालिका वडा नं ६ ईट्टागालमा हस्पिटल बनाउन लागेको हो । सामुदायिक सरकारी हस्पिटलका रुपमा २५ रोपनी क्षेत्रफलमा अस्पताल बन्न लागेको किर्तिपुर महानगरपालिका मेयर रमेश महर्जनले बताए । हस्पिटलले सबै किसिमको सेवा सुविधा दिने मेयर महर्जनले बताए । कीर्तिपुर स्थित बिष्णुदेवी हेल्थपोस्टको शाखाको रुपमा उक्त हस्पिटललाई विस्तार गर्न लागेकाे हाे । नजिकै दुईवटा हस्पिटल भएकोले अन्य ठाउँका मानिसहरुलाई पनि सजिलैसँग सेवा उपलब्ध होस् भन्ने उदेश्यको साथ उक्त हस्पिटलको शाखाको रुपमा ईट्टागलमा अस्पताल बन्न लागेको मेयर महर्जनले बताए । हस्पिटल बनेपछि वडा नं ४,५,६,८ को सेवाग्राहीहरुले सजिलै सेवा पाउने मेयर महर्जनले विश्वास व्यक्त गरे । चारै नाकामा हस्पिटल बन्दै काठमाडाैं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ ओटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएकाे छ । काठमाडाै‌काे पूर्वतर्फ भक्तपुरकाे साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको छ । उक्त हस्पिटल थापाथलीस्थित प्रसूति गृह हस्पिटलकाे शाखाको रुपमा विस्तार गरिन लागेकाे हाे । प्रसुति गृहमा बिरामीको अत्यधिक चाप रहेकाे र उपत्यका बाहिरबाट आउने बिरामीहरु ट्राफिक जामका कारण ढिलाेमात्र अस्पताल पुग्नाले मातृ शिशुकाे स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै मृत्युदर समेत उच्च हुने गरेकाेले नाकाहरु मै अस्पताल खोलेर सेवा दिन लागिएकाे बताइएकाे छ । पहिलाे चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेकाे थानकाेट क्षेत्रमा हस्पिटल बनाइने बताइएकाे छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गाैतमकाे नेतृत्वमा गएकाे जर्मन विज्ञ टाेलीले सम्भाव्यता अध्ययन समेत गरेर गएकाे मेयर घनश्याम गिरीले बताए । उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएकाे छ । हाल नगरपालिकाकाे स्वामित्वमा थानकाेटमा ८ काेठे भवनसहितकाे जग्गा छ । त्याेसँगै अर्काे भवन बनाएर हस्पिटल सञ्चालन गर्ने याेजना रहेकाे मेयर गिरीकाे भनाई छ । उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि विस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयराेग लगायतका सेवा समेत  उपलब्ध गराउने छ । काठमाडाै‌ंकाे भित्रने र बाहिरिने सबैभन्दा बढी चाप याे नाकामा रहेकाेले पहिलाे चरणमा याे क्षेत्रलाई लिइएकाे हाे । हस्पिटल बनेपछि उपत्यका बाहिरका सेवाग्राहीहरुले समय मै सेवा पाउने विश्वास मेयर गिरीले व्यक्त गरे ।