स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड
गलेश्वर । प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ । २०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्न र उपचार गराउनका लागि नेपालका साथै विदेशबाटसमेत पर्यटक र विरामीहरु आउने गरेका छन् । त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरुको पनि आकर्षण बढेको छ । यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरु आउन थालेका छन् भने अनुसन्धान गर्न समेत विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थी आउने गरेका छन् । तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ । तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो । लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरु पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिएका छन् । कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन् । कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । रासस
अनुगमनमा भेटिए म्याद नाघेका औषधि तथा खाद्यवस्तु
काठमाडौं । कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताएका छन् । अनुगमनका क्रममा सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको र अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा, चिप्सलगायतका खाद्यवस्तु म्याद नाघेको पाइएकाले अनुगमनका क्रममा सङ्कलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत बनाइएको गाउँपालिकाले जनाएको छ । म्याद नाघेका खाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय प्रमुखको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एकपटकलाई व्यापारीलाई सचेत गराएको बताउँदै आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने जनाएको छ । रासस
गरिमाका ग्राहकलाई ग्राण्डीमा विशेष छुट
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलले विशेष छुट दिने भएको छ । उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।