नेत्रज्योति सङ्घद्वारा दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
गलकोट । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिक रूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको हो । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको सहयोगमा वार्षिक रुपमा विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसरी, एक वर्षमा जिल्लाका ३५ निजी तथा सामुदायिक विद्यालयका झण्डै १५ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको नेत्रज्योति सङ्घका जिल्ला सभापति भरत पुरीले बताएका छन् । उनका अनुसार १०० विद्यार्थीको आँखा परीक्षण गर्दा औषत रूपमा तीन विद्यार्थीलाई दृष्टिमा समस्या हुने गरेको पाइएको छ । सङ्घले प्राविधिक रुपमा शिविरमै चश्मा उपलब्ध गराउन समस्या हुने भएकाले एकमुष्ट चश्मा वितरण गर्दै आएको छ । सङ्घले ५० वर्ष नाघेका वृद्धवृद्धालाई समेत आँखा शिविरमार्फत निःशुल्क चश्मा वितरण गर्दै आएको छ । यो वर्षमात्रै २०० वृद्धवृद्धालाई निःशुल्क चश्मा वितरण गरिएको छ । वृद्धवृद्धालाई वितरण गरिने चश्मा पहिल्यै निर्माण गरिने भएका कारण आँखा शिविरमै हस्तान्तरण गर्दै आइएको सङ्घका सचिव बालकृष्ण शर्माले बताए । गत वर्ष १५० विद्यार्थीलाई चश्मा वितरण गरिएको थियो भने यस वर्ष विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर २०० पुगेको छ । आँखाको नियमित परीक्षण अभावमा धेरै विद्यार्थीको दृष्टि कमजोर हुँदै गइरहेको भन्दै नेत्रज्योति सङ्घले विद्यालयमै पुगेर आँखा शिविर सञ्चालन गर्दै आएको छ । रासस
नेपालगञ्जमा आर्थिक विकास परियोजना शुरू हुँदै, चार क्षेत्रमा विशेष प्राथमिकता
राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका अनुसार, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरी चार क्षेत्रमा परियोजनाले विशेष प्राथमिकता दिएको छ । कार्यक्रमले गाउँ र शहरलाई जोड्ने उनको दाबी छ । उनले भने, “यसले गाउँनगरलाई जोड्दै व्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।” सन् २०१९ को जुन १ देखि कार्यान्वयन प्रक्रियामा रहेको परियोजना २०२२ को मे १ सम्म सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेलले सरकार र जनताको आवश्यकताअनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका हुन् । जिआइजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले उक्त कार्यक्रमले उपमहानगरपालिकाले लाभ लिनसक्ने बताए । उनका अनुसार, उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआइजेडले कार्यक्रम र बजेटको निर्णय गर्नेछ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेलले परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएका छन् । रासस
वैज्ञानिकहरु भन्छन्-‘पाँच वर्षमुनिका बालबालिकाले दूध र पानी मात्र पिउनुपर्छ’
न्यूयोर्क । वैज्ञानिकहरुको एक प्यानलले बालबालिकाहरुको लागि नयाँ पौष्टिक मार्गनिर्देशन जारी गरेको छ । वैज्ञानिकहरुको प्यानलले बुधबार बालबालिकाहरुले जन्मेको पहिलो बर्षमा के खानुहुन्छ र के खानुहुदैन भनेर नयाँ मार्गनिर्देशन जारी गरेको हो । प्यानलले जन्मको पहिलो बर्षका शिशुहरुले दूधमात्र पिउनु पर्ने बताएको छ । उनिहरुले बालबालिकाको खानामा ६ महिनापछि पानी थप्न र १२ महिनापछि गाईको दूध बदल्न सकिने बताएका छन् । मार्गनिर्देशनको अनुसार जन्मिएको पाँच बर्षसम्म बालबालिकाले दूध र पानी मात्र पिउनु उपयुक्त हुन्छ । साथै ५ बर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । गाईको दूधको विकल्प चाहने आमाबुवाहरूको लागि भने सोया दूध रुचाइएको विकल्प हो । नयाँ मार्गनिर्देशन ‘हेल्दी ईटिङ समुह’ का पोषण अधिवक्ता समूहले बनाएका हुन् । मार्गनिर्देशन अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स, एकेडेमी अफ न्यूट्रिशन एण्ड डायटेटिक्स, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक डेन्टिस्ट्रीले बनाएको कारण दिईएका सुझावहरु निकै नै प्रभावकारी हुने बताईएको छ ।गुलियो पेय पदार्थहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुको कारण बालबालिकामा सानै पनि देखिने अत्याधिक मोटोपना हो, जसले आजीवन दीर्घकालीन रोगहरुलाई निम्ताउने गर्दछ । विश्व स्वास्थ्य संगठन अनुसार संसारभरमा ४ करोड बालबालिका मोटोपनको शिकार भएका छन् । नयाँ मार्गनिर्देशनलाई यसरी उमेर समुहमा विभाजित गरिएको छ : जन्मेदेखी ६ महिनासम्म बालबालिकाहरुले दूधको मात्र सेवन गर्नुपर्छ। बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरीयुक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । ६ महिनादेखी १ बर्षसम्म बालबालिकाहरु अझै पनि आमाको दुधमै निर्भर हुनुपर्दछ। एकपटक बालबालिकाले ठोसकुरा खाना थालेपछी उनिहरुले पानी पिउन सुरु गर्न सक्छन् । बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ। १२ देखी २४ महिनासम्म बालबालिकाहरुले दैनिक १ देखी ४ कप पानी पिउनु पर्नेछ । उनिहरुलाई एकदमै थोरै मात्रामा मात्र जुस पिउन दिनुपर्छ । २ बर्ष देखी ३ बर्षसम्म बच्चाले दैनिक एक वा चार कप पानी र फ्याट-फ्रि वा कम फ्याट (१ प्रतिशत फ्याट) दूध पिउनु पर्दछ । उनिहरुले १०० प्रतिशत जुसको चार अंश भन्दा बढी पिउनु हुँदैन र अन्य पेय पदार्थ पनि सेवन गर्नुहुँदैन। ४ देखी ५ बर्ष यी बच्चाहरूले दिनको एक कप देखी पाँच कपसम्म पानी पिउनुपर्दछ। यसका साथै थोरै मात्रामा जुस र त्यस बाहेक अन्य गुलियो पेय पदार्थको सेवन गर्नु हुँदैन । (न्यूयोर्क टाईम्सबाट उल्था गरिएको । )