कोरोना संक्रमित नेपाली युवती अनुभवः निको हुने छाँटकाँटै छैन, तपाईहरु सावधान रहनुस्
काठमाडाैं । कोरोना संक्रमित एक जना नेपाली युवतिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कोरोना भाइरसको पीडा व्यक्त गरेकी छन् । हाल बेलायतको लण्डनमा बस्दै आएकी ती महिलाले आफुर्लाइ कोरोना भाइरस संक्रमण भएको १३ दिन बितिसक्दा पनि निको हुने छाँटकाँट नदेखिएको बताएकी छन् । लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै भनेकी छिन,‘१० दिनको सेल्फ आइसोलेसन पछि कोभिड १९ सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ सबैले साबधानी अपनाउन सक्नुहुनेछ, हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’ उनले कोरोना भाइरसको पीडा निकै भयानक भएको भन्दै सबैलाई सावधान र सचेत रहन अनुरोध गरेकी छन् । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) विश्वका १९५ देशमा पुगेको छ । कोरोना भाइरसका कारण बिहीबार अपरान्हसम्म २२ हजार २६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म यो भाइरसबाट ४ लाख ८७ हजार ४३४ मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमणमा परेका एक लाख १७ हजार ५६४ मानिस ठीक भएका छन् । यस्ताे छ उनकाे फेसबुक स्टाटस
भारतको बम्पर प्याकेजः ८० करोडलाई खाद्यान्न,कोरोना उपचारमा संलग्नलाई ५० लाखको बीमा,साढे ८ करोड किसानलाई २ हजार रुपैयाँ
काठमाडौं । भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म निशुल्क दिने भारतले घोषणा गरेको हो । भारतले कोराना भाइरसको उपचारमा संलग्नलाई ५० लाख रुपैयाँको बिमाको घोषणा गरेको छ । प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने भएको छ । हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे बेला विभिन्न देशका सरकारले आफ्ना नागरिकलाई विभिन्न किसिमका प्याकेजहरु ल्याइरहेका छन् ।
२५ हब अस्पताललाई फिभर क्लिनिक चलाउन सरकारले १०/१० लाख दिने
काठमाडौं । सरकारले फिभर क्लिनिक संचालन गर्नको लागि हब अस्पतालहरुलाई १०/१० लाख रुपैंया प्रदान गरेको छ । कोरोनाभाईरससँग सम्बन्धित नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोईरालाले सरकारले फिभर क्लिनिक संचालनको लागि २५ हब अस्पताललाई १०/१० लाख प्रदान गरिएको बताएका हुन् । उक्त रकमले किल्निक संचालन गर्नको लागि चाहिने उपकरणहरु गर्न उनले बताए । ती अस्पतालले फिबर क्लिनिकमा आएका व्यक्तिमध्ये शंकास्पदको नमुना मात्र परीक्षणका लागि पठाउने उनले बताए। हालसम्म ७ सय शकांसपद बिरामीको कोरोना संक्रमण परीक्षण गरेकोमा ३ जनामा मात्र संक्रमण देखिएको उनले जानकारी दिए।