५० शैय्याको सैनिक अस्पताल सञ्चालनमा
इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । उक्त अस्पतालकाे उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । उनले नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए । प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ । रासस
बच्चामा मौसमी रुघाखोकी बढ्यो, यसरी राख्नुहोस् सुरक्षित
काठमाडौं । जाडो मौसमलाई बिदा गर्ने समय नजिकिँदै गर्दा मानिसहरुमा रुघाखोकी एकदमै बढी देखिन्छ । अस्पतालहरुमा सामान्य रुघा, खोकीका बिरामीहरु ह्वात्तै बढेको छ । तपाई नजिकैकौ अस्पतालमा जानुभयो भने तपाईले यस्तो लक्षण देखिएका मानिसहरु धेरै संख्यामा देख्न सक्नुहुन्छ । तपाईको परिवारको सदस्य वा तपाई नै पनि अहिले यो समस्या गुज्रिरहेको हुनुहुन्छ । नेपालमा फ्लुको ढाँचा हेर्ने हो भने विशेष गरेर फेबु्रअरी र मार्च (माघ, फागुन, चैत) र अगस्ट ( साउन, भदौं) मा सबैभन्दा बढी बिरामी देखिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । फ्लुबाट सबैभन्दा बढि बालबालिका र बुढापाका प्रभावित हुने गर्दछन् । फ्लु एक प्रकारको भाईरल इन्फेक्सन हो, जसले फोक्सोको हावा बग्ने क्षेत्रलाई असर गर्दछ । यसले ज्वारो आउने, शरीर दुख्ने, रुघाखोकी लाग्ने र अन्य धेरै लक्षणहरु देखिन्छन् । केही बालबालिकालाई फ्लुले १ हप्ता जति असर गर्न सक्दछ । तर केही बालबालिका फ्लुको कारण गम्भीर बिरामी हुने गरेको छन् । त्यसैले सामान्य रुघाखोकी भन्दै बालबालिकाहरुलाई चेकजाँच गर्नुपर्दैन भन्दै घरमै राख्नु नहुने विशेषज्ञहरु बताउँछन् । बच्चामा फ्लु लाग्नुको कारण के हो ? एक बच्चादेखि अर्का बच्चामा फ्लुको भाईरस हाच्छिउँ, खोकीको माध्यमबाट सर्न गर्दछ । भाईरसहरु छोटो समय विभिन्न बस्तुहरुको सतहमा बस्न सक्छ । जस्तै खेलौना, ढोकाको चुक्कुल, कलम, किबोर्ड, मोबाईल इत्यादि । यस्तो भाईरस साँझा खाने र पिउने भाँडाबाट पनि सर्दछ । तपाईको बच्चाले कुनै पनि फ्लुको संक्रमण लागेको व्यक्तिले छोएको सामाग्री छोएर आफ्नो मुख, नाक, आँखामा लगेपछि फ्लु सर्दछ । विद्यालयका कक्षाकोठाहरुबाट विशष गरेर बालबालिकामा फ्लु सर्न सक्ने डा. पुन बताउँछन् । यसको लक्षण देखिनु २४ घण्टा अगाडी अरुमा सर्ने सम्भावना बढी हुन्छ । फ्लु लागेको करिब ७ दिनपछि यो सर्ने सम्भावना कम भएर जान्छ । बालबालिकहरु धेरै सतह क्षेत्रमा छुने हुनाले उनीहरुलाई संक्रमण हुने सम्भावना बढि हुन्छ । कस्तो बालबालिकालाई फ्लु संक्रमणको खतरा हुन्छ ? –फ्लू संक्रमित व्यक्ति वरपर बस्ने –फ्लूको खोप नलगाउने –संक्रमित सतहहरु छोएर हात नधुने बच्चालाई फ्लुबाट कसरी बचाउने ? फ्लुबाट बच्नु एक निकै राम्रो उपायमध्ये फ्लुको भ्याक्सीन भएको डा. पुन बताउँछन् । पहिलोपल्ट ६ महिनाको बच्चालाई भ्याक्सीन दिँदा उसलाई एक महिनापछि दोस्रो भ्याक्सीन पनि दिनु पर्दछ । भ्याक्सीन ६ महिना वा सोभन्दा बढी उमेरका बच्चाहरुका लागि प्रयोग गर्न शुक्रराज ट्रपिकलका डा. अनुप बास्तोला बताउँछन् । बास्तोलको अनुसार फ्लू भ्याक्सीन कुनै पनि बच्चालाई दिनुहोस् जससँगः –लामो समयदेखि मुटु वा फोक्सोको बिरामी –मधुमेह रोगी –मिर्गौला वा कलेजोमा खराबी –एचआईभी र एड्स वा दीर्घकालिन स्टेरोइडबाट कमजोर प्रतिरोधात्मक क्षमता यस्तो बच्चालाई फ्लु भ्याक्सिन दिनुपर्छः –परिवारको सदस्य दीर्घकालीन स्वास्थ्य अवस्थाको साथ छ –आमा बुबा वा परिवारको सदस्यमा फ्लुको भ्याक्सिन यसरी जोगाउँनुस् आफ्न बच्चालाई फ्लु संक्रमणबाट जोगाउन फ्लु संक्रमित व्यक्तिहरूसँग तपाईंको बच्चाको सम्पर्क सीमित गर्नुहोस् । बच्चा खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्न लगाउनुहोस् । यस्तै टिस् यु पेपरको प्रयोग गनुहोस् । बच्चाको हेरचाह गरिसकेपछि हात राम्ररी धुनुहोस् ।
कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिँदै, छुट्याइयाे ४० करोड बजेट
विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पतालमध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रङ्गेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हो । तत्कालीन ५० श्ययाको यो अस्पतालमा हाल ३५० श्यया छन् । पाँच बिघा आठ कट्ठा नौ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २६७ चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालका सुरपरीवेक्षक डा. सङ्गीता मिश्रले जानकारी दिएकी छन्। साना ठूला गरी दुई दर्जनभन्दा बढी भवन रहेको सो अस्पतालका १३ कट्ठा तीन धुर जग्गा अरु संस्थाले अतिक्रमण गरेको पाइएको छ । जसमा नेपाल क्षयरोग निवारण संस्थाले आठ कट्ठा १० धुर, गणेश मन्दिरले एक कट्ठा १० धुर, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा १३ धुर र देवकोट पुस्तकालयले दुई कट्ठा जग्गामा आफ्ना संरचना निर्माण गरेको अस्पतालले जनाएको छ । यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विशिष्ट प्रकारको स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन । अत्यधिक भीड हुने सो अस्पतालमा अहिले अवस्थामा सर्वसुलभ, गुणस्तर सेवा, स्वच्छ वातावरणमा सञ्चालन गर्न पुरानो संरचना बाधकका रुपमा छ भने नयाँ संरचना बनाउन रु पाँच अर्बभन्दा बढी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अस्पतालमा वर्षात्को समयमा परिसरमा पानी जम्ने, फोहर थुप्रिने, सडकबाट झण्डै दुई फिट गहिरो देखिने, झट्ट हेर्दा सुकुम्वासीले घेरेकोजस्तो देखिने यो अस्पताललाई अत्याधुनिक शिक्षण अस्पतालमा परिणत गर्न पुराना संरचना भत्काएर नयाँ संरचना बहुतले बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । अहिले अस्पतालमा आइसियु, सर्जिकल र न्यूरो तथा नेफरोलोजी सेवा प्रदान गर्न नयाँ भवन निर्माण गर्न सङ्घीय सरकारबाट सङ्घीय आयोजना कार्यान्वयन एकाइ(भवन) कार्यालयको नाममा रु ४० करोड बजेट विनियोजन भई आएकाले अस्पतालले सरोकारवालसँग धारणा लिन आज अस्पतालको सभाकक्षमा आयोजित छलफलमा सो धारणा आएको हो । छलफलमा प्रदेश ल्याब भवन अस्पतालको हाताभित्र बनाउने र अस्पतालको जेनेरेटर हाउस भएर जाने सार्वजनिक बाटोको व्यवस्थापन गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दरबन्दी छ, डाक्टर छैनन् कोशी अस्पतालमा दरबन्दी अनुसारका एक तिहाई चिकित्सक नहुँदा सेवाग्राहीहरू गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट बञ्चित हुँदै आएका छन् । अस्पतालमा लामो समयदेखि सरकारी दरबन्दी अनुसार ११ औं तहका आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नेपोलोजिष्ट, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, नर्सिङ प्रशासनसहित ल्याबटेक्निसियनलगायत दरबन्दी अनुसारको चिकित्सकको अभाव रहेको बताइएको छ । शिक्षण अस्पताल बनाउने तयारी प्रदेश नं १ अन्तर्गतका १४ जिल्लासहित प्रदेश २ का सप्तरी, सिरहा, धनुषा जिल्लाबासी पनि उपचार सेवाका लागि भर पर्दै आएको यो अस्पताल पूर्वाधार र विशेषज्ञ डाक्टरको अभावसँगै आर्थिक अभावसँग पनि जुधिरहेको छ । आर्थिक अभावका कारण भएका कर्मचारीलाई समयमा तलव खुवाउन पनि अस्पताल प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको छ । तर पनि प्रदेश सरकारले भने कोशी अस्पताललाई प्रदेश सरकारको शिक्षण अस्पतालका रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले यो अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताए । शिक्षण अस्पताल बनाउनका लागि तत्काल एमडीको कक्षा सञ्चालन गर्नुपर्ने जोड दिदैं उनले अस्पतालभित्रका तीन वटा भवन बाँकी राखेर अन्य सबै भवन भत्काउनु पर्ने बताए । मन्त्री घिमिरेले हाल प्राप्त भएको रु ४० करोडको योजनालाई दीर्घकालीन योजनामा समावेश गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अस्पतालको नाममा रहेको जग्गा स्वामित्वमा ल्याउन नसके अस्पतालले इतिहास कायम गर्न नसक्ने बताउँदै अस्पतालको स्तरोन्नति गर्न र जनताको भावनाअनुसार चल्न दीर्घकालीन योजनाको विकल्प नरहेको प्रष्ट पार्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अस्पताललाई राम्रो र भरपर्दो बनाउन अस्पतालले तयार पार्ने योजना एवं सोचमा आफ्नो समर्थन रहेको बताए । प्रदेशसभा सदस्य जयराम यादवले व्यावसायिक प्रयोजनमा रहेका संरचना भत्काएर अस्पतालको जग्गा अस्पतालकै भोगमा ल्याउनुपर्ने सुझाव दिए । जिल्ला समवन्य समिति मोरङका संयोजक नरेश पोखरेलले अस्पतालको साखलाई उच्च बनाउन अतिक्रमित जग्गा फिर्ता गराउनुपर्ने भन्दै अस्पतालले दीर्घकालीन योजना बनाएर प्रदेशकै नमूना अस्पताल बनाउनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताललाई नमूना अस्पताल बनाउन नगरपालिकाबाट हुन सक्ने सबै किसिमको सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष क्रृषि पोखरेल र नेता गुरु बरालले अस्पताललाई अत्याधुनिक बनाउनुपर्ने बताउँदै सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न व्यवस्थापनमा निकै सुधार गर्नुपर्ने खाँचो औँल्याएका छन् । अस्पतालका पूर्वमेसु डा. ज्ञानेन्द्र गिरी, पूर्वचिकित्सक डा मदन कोइराला, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, उपभोक्ता मञ्चका उत्तम ढुङ्गेल, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले यो अस्पताल गरिबको लागि मात्र नभएर धनीले पनि राम्रो सेवा पाउँछन् भनेर खोजेर आउनुपर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अस्पतालको स्वामित्वमा रहेको जग्गालाई अतिक्रमणबाट जोगाउन प्रशासनबाट हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । रासस