संसारभर कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो
काठमाडौं । नेपाल समय अनुसार आज विहान ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख १८ हजार १ सय ३९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९० हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ४५ हजार ५ सय जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ८० हजार २ सय ४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ भने अहिलेसम्म ७ सय २१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४८ जना संक्रमित भएका छन् भने ९ जना निको भएर घर फर्किसकेका छन् । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने २ जना हिजो निको भएर घर फर्किएसँगै राजधानी काठमाडौं भने कोरोना संक्रमणबाट मुक्त भएको छ । (तथ्यांक साभारः वल्डोमिटर)
सुदूरपश्चिममा चौथो संक्रमित महिलाले पनि जितिन् काेराेना
काठमाडाैं । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले बताएकाे छ । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्। अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्।
काेराेना संक्रमितमुक्त बन्याे काठमाडाैं
काठमाडौं । आजदेखि काठमाडौंमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएकाे छ । आज पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राज भण्डारीले आज देखि काठमाडौंमा कोरोना संक्रिमतकाे संख्या शुन्य पुगेको बताएका छन् । ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्, काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ,’ उनले भने । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए । सबै संक्रमित निको भएर घर फर्किसकेको अवस्थामा एक प्रकारको आनन्द महसुुस भएको बास्तोला बताउँछन् । आफुहरु थप आउन सक्ने चरणको लागि तयारी गरिरहेको उनले जानकारी दिए । हालसम्म नेपालमा ४७ जना काेराेना संक्रिमत पुष्टि भएका छन् । जसमा ९ जना निकाे भएर घर फर्किसकेका छन् । आज मात्रै थप दुई जनामा काेराेना देखिएकाे छ । काठमाडाैंमा नयाँ काेराेनाका बिरामी नदेखिए पनि काठमाडाैं बाहिर भने दैनिक बढ्दै गएका छन् ।