कोरोना रोगको उपचारमा आशाका साथ परीक्षण गरिएको प्लाज्मा थेरापी के हो ?

काठमाडौं । कोरानाको कहरबाट आक्रान्त अहिलेको परिस्थितिमा केही सकारात्मक समाचार समेत आउन सुरु गरेका छन् । कोरोना भाइरसको औषधी, खोप तथा उपचारको लागि संसारभरका वैज्ञानिकहरु विभिन्न प्रयोग तथा परीक्षणमा दिनरात लागिरहेका छन् । त्यसैक्रममा हालै अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । अमेरिकामा प्लाज्मा थेरापीबाट गरिएको उपचारको परिणाम सकारात्मक देखिएपपि अहिले भारतमा समेत ४ ओटा अस्पतालले प्लाज्मा थेरापीबाट उपचारको लागि अनुमति पाएको छ । कोरोना संक्रमणको उपचारमा भर्खरै मात्र सुरु गरिएको प्लाज्मा थेरापी नयाँ उपचार पद्दति नयाँ भने हैन । यो पद्दतिको सुरुवात सन १८९० बाट नै भएको हो । सन १९१८ मा फैलिएको स्पेनिस फ्लूको माहामारीको उपचारमा समेत यो पद्दतिको सफल प्रयोग गरिएको थियो । जोन्स हकिङ्स ब्लुमबर्ग स्कुलअफ पब्लिक हेल्थका प्राध्यापक डा. आरतुरो कासादेवालका अनुसार आजभन्दा पहिलेको प्रयोगको कुरा गर्ने हो भने प्लाज्मा थेरापीको आँकडा अत्यन्त सकारात्म रहेको छ । स्पेनिस फ्लु, मार्स, सार्स लगायलका भइरसजन्य फ्लुमा यसको प्रयोगबाट गरिएको उपचार सफल रहेको छ । ‘तर कोरोनाको सन्दर्भमा अहिले केही भन्न सक्ने अवस्था छैन । कोरोना भाइरस हाम्रो लागि अत्यन्त नयाँ हो,’ डा. आरतुरोले भने । प्लाज्मा थेरापीको कोरोनामा पर्ने प्रभावको बारेमा उचित जानकारीका लागि यसको क्लिनिकल परीक्षण बढाउनु पर्ने डा. आरतुरो कासादेवालको धारणा रहेको छ । के हो प्लाज्मा थेरापी ? कुनैपनि व्यक्ति जब कोरोना लगायतका संक्रामक रोगको सामना गरेर ठिक हुन्छन्, तिनीहरुको रगतमा एक प्रकारको एन्टिबडी उत्पादन भएको हुन्छ । यो एन्टिबडी संक्रमणको विरुद्धमा लड्न सक्ने हुनका साथै त्यस्ता व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमताको कारण विशेष प्रकारको प्रोटिनको समेत उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । शरीरले एन्टिबडीको उत्पादन तथा प्रसारण रातो रक्तकोस (रेड ब्लडसेल) मार्फत गर्ने गर्दछ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । रगतको एन्टिबडी रहेको उक्त भाग (कनब्यालेसेन्ट प्लाज्मा ) लाई जम्मा गरेर बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । रोगको विरुद्धमा एन्टिबडी भएको कनब्यालेसेन्ट प्लाज्माको प्रयोग गरेर उपचार गरिने पद्धतिनै प्लाज्मा थेरापी हो । प्लाज्मा थेरापी कतिपय अवस्थामा अत्यन्त सफलसमेत रहेको छ । तिब्ररुपमा हानी पुर्याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताले वा शरीरले नै लड्नु पर्ने प्रकृतिका बिषाणु संक्रमणका विरुद्धमा यो पद्धति सफल मानिएको छ । सर्पदंशको उपचार यो पद््दतिको एक सफल उदाहरण हो ।

कोरोना संक्रमणः यस्तो छ ताजा तथ्यांक

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ः१५ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५२ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख २५ हजार ३८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने अहिलेसम्म ७८० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

फागुन ३० गते हिमालयन एयरलाईन्सबाट नेपाल आएका थिए भोजपुरका कोरोना संक्रमित

काठमाडौं । भोजपुराको कोरोना (कोभिड–१९) संक्रमित २६ वषिर्य पुरुष फागुन ३० गते नेपाल आएका थिए । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भोजपुराको ४८ औं कोरोना संक्रमित पुरुष फागुन ३० गते नेपाल आएकाे बताएका हुन् । उनी हिमालयन एयरलाईन्सबाट फागुन ३० गते साउदीबाट नेपाल आएका देवकाेटाले बताए । उनी काठमाडौंबाट उदयपुरमा केही दिन बसेकाे र त्यसपछि भाेजपुर गएका थिए । उनीसँग उदयपुरमा सं‌म्पर्कमा आएकाे  सबैकाे नमुना संकलन भइसकेकाे उनले बताए । उनी हाल हतुवागढीमा चिकित्सककाे निगरानीमा रहेकाे र विराटनागर ल्याउने तयारी भईरहेकाे देवकाेटाले जानकारी दिए । भाेजपुरमा आरडिटी पाेजेटिभ देखिएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  पिसिआर विधीबाट जाँच गर्दा उनमा बिहीबार साँझ काेराेना पाेजेटिभ देखिएकाे हाे । नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेकाे छ जसमध्ये १० जना निकाे भएर घर गइसकेका छन् । हालसम्म नेपालमा ९ हजार ४ सय ७ जनाकाे पिसिआर विधीबाट र ३८ हजार ८७ जनाकाे आरडिटी विधीबाट परीक्षण भएकाे छ ।