स्वास्थ्य सामग्री खरिदबारे छानबिन शुरु

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ । समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई प्रत्राचार गरेको हो । कोरोना भाइरसको सङक्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभागमार्फत बिनाप्रतिस्पर्धा ओम्नी विजनेश कर्पाेरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकामा सो खरिद सम्झौता पछि रद्द गरेको थियो । सो सम्बन्धमा समितिले छानबिनकार्य अघि बढाउन आवश्यक देखेकाले त्यसमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजात उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको समिति सचिव डा रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

आज चारजना संक्रमित निको भएर घर फर्किए: डा. विकास देवकोटा

काठमाडौं । कोरोनाभाईरस (कोभिड–१९) को ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बधि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ जना संक्रमित निको भएर घर फर्किएको बताएका हुन् । १९ वर्षिय पुरुष १२ दिनपछि र अन्य ३ पुरुष दिनपछि निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १६ पुगेकाे छ । आइतबारसम्म नेपालमा काेराेना संक्रमितकाे  संख्या ५१ रहेकाे  छ । हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् । हालसम्म  पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।

प्रदेश नं.१ मा मात्रै ३० काेराेना सङ्क्रमित

विराटनगर। प्रदेश नं. १ मा हालसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना डेस्कले जनाएको छ । प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९को परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा छन् । रासस