चीनबाट साढे आठ करोडका के-के सामान ल्याइयाे ?
काठमाडाैं । कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चीनको तिब्बत सरकारले उपलब्ध गराएका दुईवटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री बुधवार प्राप्त भएको बताइएकाे छ । ती स्वास्थ्य सामग्री झन्डै ५१ लाख चिनियाँ युआन अर्थात साढे आठ करोड नेपाली रुपियाँको रहेको बताइएको छ। हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल आइपुगेका हुन्। बुधवार नै भन्सार प्रक्रिया गरी ती सामग्री काठमाडाैं ल्याउने लक्ष्य राखिएको बताइएकाे छ । सामग्रीमा के के छन्? सहयोगमा आएको सामग्रीमा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने एन९५ मास्क र पीपीई १० हजार थान रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रमेश पोखरेलले कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्न प्रयोग गरिने दुईवटा पीसीआर मेशिन र त्यसमा प्रयोग हुने रिअजेन्ट र स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम २०,००० थान रहेको बताए। परीक्षणका लागि नाक र घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएमको अभाव हुन लागेको विवरण आएका थिए। सरकारी अधिकारीहरूले ५०० देखि १,००० को सङ्ख्यामा मात्रै भीटीएम बाँकी रहेको बताएका थिए। त्यसबाहेक एक हजार वटा ज्वरो नाप्न प्रयोग गरिने इन्फ्रारेड थर्मामिटर पनि तिब्बतले सहयोग दिएको उनले जानकारी दिए। बुधवार बिहान चिनियाँ पक्षले तातोपानीको सीमावर्ती मितेरी पुलमा नेपाली पक्षलाई ती सामग्री उपलब्ध गराएको थियो। चीनबाट थप सामग्री ल्याउने प्रयास प्रादेशिक तहमा पनि यी सामग्रीहरू पठाउनुपर्ने आवश्यकता रहेको र यसबारे अध्ययन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि अघिल्लो हप्ता सरकारले चीनको अलीबाबा फाउन्डेशनबाट सहयोग प्राप्त गरेको थियो। बीबीसी नेपाली
भारतले लगायो र्यापिड टेस्टमा रोक
काठमाडौं । भारतमा र्यापिड डायग्नोस्टिक टेस्टको माध्यमबाट कोरोना भाइरसको परीक्षणमा रोक लगाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरको तर्फबाट संयुक्त रुपमा भएको पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्यापिड टेस्टबाट कोरोना परीक्षणमा रोक लगाइने निर्णय गरेको हो । आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्यापिड टेस्ट किटबाट लिएको परीक्षणको नतिजा फरक आएसँगै विश्वसनीयतामा प्रश्न उठेको भन्दै अगामी दुई दिन र्यापिड टेस्ट नगर्ने जानकारी दिए । आईसीएमआरले गहन छानबिन पछि परीक्षणका लागि निर्देशन जारी गर्ने जानकारी दिँदै सो राज्यमा आफ्नो टोली पठाउन लागेको जनाएको छ । पछिल्लो २४ घण्टा यता भारतमा १ हजार १ सय ९३ कोरोना संक्रमित फेलापरेसँगै हालसम्म २० हजार १ सय ७८ जना भारतिय नागरिकमा कोरोना संक्रमित छन् भने ६ सय ४५ जनाको मृत्यु भईसकेको छ ।
र्यापिड टेस्टमा पोजेटिभ देखिएको दुई नर्सको पिसिआर नजिता नेगेटिभ
काठमाडौं । काठमाडौंमा र्यापिड टेस्ट गर्दा दुई जना नर्समा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने नेगेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोनाको संक्रमण नदेखिएको जानकारी दिएको छ। आइसोलेसनमा भर्ना गरिएका नर्सलाई अस्पतालले आजै डिस्चार्ज गर्ने जनाएकाे छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई नर्सलाई सोमबार र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाले टेकु अस्पतालमा भर्ना गरिएको थियो ।