स्यानिटाइजर उत्पादन गर्दै विश्वविद्यालय
वीरेन्द्रनगर। कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको छ”, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले भने, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन शुरु गरिएको हो ।” निकट भविष्यमा नै त्यसलाई आइएसओ सर्टिफाइड गर्ने र बजारमा पठाउने उनले बताए । “यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग सहकार्य भइरहेको छ”, उनले भने, “हाल विश्वविद्यालयले रु एक लाख लगानी गरेर स्यानिटाइजर उत्पादन गरिरहेको छ ।” विश्वविद्यालय व्यवस्थापन सङ्कायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गर्ने योजनाअनुसार थप कार्ययोजना बनाई अघि बढेको उपकुलपति प्रा डा सिंहले बताए । “शिक्षालाई सीपसँग जोड्ने र उक्त सीपलाई उत्पादनसँग जोड्ने अभियानमा छौ”, उनले भने, “यसबाट हामी आर्थिक वृद्धि गर्ने गरी अघि बढ्ने योजनासमेत बनाएका छौँ ।” “आमनागरिकलाई त्रसित बनाइरहेको कोरोनाविरुद्ध लड्न स्यानिटाइजरमा आमनागरिकको सहज पहुँच अभाव देखिएकाले त्यही अभावलाई पूर्ति गर्न यसको उत्पादनमा लागेका हौँ”, उनले भने, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।” विश्वविद्यालयलाई सर्टिफिकेट प्रदान गर्ने मात्रै नभई आत्मनिर्भर बन्नका लागि आवश्यक पर्ने सीपयुक्त दक्ष जनशक्ति निर्माण गर्ने उनको भनाइ छ । रासस
अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने
काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् । निजी प्रयोगशालाको यसको लागि स्वास्थ्य मन्त्रालयसँग संम्पर्क गर्नुपर्ने बताएका छन् । हालसम्म सरकारी स्तरले मात्र कोरोना परीक्षण गरिरहेकोे थियो ।
नेपालमा कोरोना संक्रमितकाे संख्या ५२ पुग्यो
काठमाडौं । झापामा आइतबार साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। नेपालमा आइतबारसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या १६ रहेकाे छ । हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् । हालसम्म नेपालमा पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।