डब्ल्यूएचओले जारी गर्याे नयाँ दिशानिर्देशन, सार्वजनिक स्थानमा मास्क प्रयाेग गर्नैपर्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देशन जारी गरेको छ । स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताउँदै आएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने पार्वजनिक स्थानहरुमा मास्क लगाउन आग्रह गरेको छ । सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सबैलाई निर्देशन दिएको छ । डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा.मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट जोगिन सकिने बताएकी छन् । यस अगाडी डब्लुएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताउँदै आएको थियो । डब्ल्यूएचओको परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमणबाट जोगिन अनिवार्य रुपमा माक्स लगाउनुपर्ने उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । तर ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुले भने मेडिकल मास्क लगाउर्नैपर्ने डब्ल्यूएचओले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन स्थगित

कञ्चपुर । सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि ५ दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो । पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २ सय ५० मात्रै छ । परीक्षणका लागि आएका स्वाबका १ हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब सङ्कलन कार्य भइरहेको छ । यसरी नै स्वाब सङ्कलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले ५ दिनका लागि स्थगन गरिएको छ । प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब सङ्कलनको कार्य शुरु गरिने बताइएको छ । रासस

६८ लाख ३९ हजार मानिसमा कोरोना संक्रमण, मृतककाे संख्या ४ लाख नजिक

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९७ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख २९ हजार ८ सय ६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ११ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ६५ हजार ५ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ भने अहिलेसम्म ६ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ९ सय १२ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।