पाल्पा । पछिल्लो दुई महिनामा पाल्पामा २५५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा मात्रै यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएसँगै जिल्लामा डेंगीको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार यसअघिका आर्थिक वर्षहरूमा पनि डेंगी सङ्क्रमणको स्थिति उतारचढावपूर्ण रहेको थियो । विगतका वर्षहरूको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लो समय परीक्षणको दायरा फराकिलो बन्दै गएको र जलवायु परिवर्तनका कारण वातावरणीय अनुकूलता मिल्दा सङ्क्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
पाल्पास्थित युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीहरूमा डेंगी सङ्क्रमण देखिएको छ । यसबाहेक विभिन्न निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा समेत डेंगी परीक्षण हुँदै आएको छ । वर्षायाममा घर वरिपरि पानी जम्ने स्थानहरू बढ्ने र त्यसले डेंगी सार्ने एडिज जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण तयार गर्ने भएकाले जोखिम झन् बढेको छ । यस्ता लामखुट्टेले घरआँगनमा रहेका पुराना टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने अन्य भाँडाकुँडामा फुल पार्ने गर्दछन् ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय पाल्पाले सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवालाहरूसँग डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी पैरवी तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । लामखुट्टे नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लार्भा नष्ट गर्न र लामखुट्टेको टोकाइबाट बच्न सबैलाई आग्रह गरेका छन् । घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन तथा खाल्डाखुल्डी पुर्न, गमलाको प्लेट, फुलदानी र कुलरको पानी कम्तीमा हप्तामा एक पटक फेर्न तथा खानेपानी वा ढल चुहिएको भए तत्काल मर्मत गर्न उनले अनुरोध गरेका छन् ।
साथै, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, सधैँ झुलभित्र सुत्ने र झ्यालढोकामा जाली हाल्न पनि सुझाव दिइएको छ ।