निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ। सरकारी प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि सरकारले निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पेस गर्न आव्हान गरेको प्रयोगशालाकी निर्देशक डा. रूना झाले बताइन् । ‘हामीले निजीलाई पनि दिने निर्णय गरेका हौं । ईच्छुकहरुलाई उहाँहरूको क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस छौं । त्यसपछी उहाँहरुको सबैकुरा बुझेर हामी अगाडि बढ्नेछौं । उहाँहरुले त्यति धेरै त गर्न सक्नुहुन्न तर केही हदसम्म सहयोग हुने हुनाले हामीले यो निर्णय गरेका हौं ।’ – उनले विकासन्युजसँग भनिन् । यस बारेमा हिजोबाट छलफल सुरु भएकाे र अब आईतबारसम्ममा निश्कर्ष निस्कने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ खेम कार्कीले बताए । त्यसपछि कस्तो अस्पताललाई दिने भन्ने निणर्य हुने उनले बताए । अहिले देशभर रहेका २० वटा प्रयोगशालाहरूले परीक्षण गरिरहेका छन् । उनीहरूले पछिल्लाे समय परीक्षण धान्न नसक्दा प्रयोगशालाहरूमा नमूनाको चाङ लागेको छ।

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं । क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको छ । यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो । बुधबार साढे ४ बजे आरडिटी गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगेका ती युवक नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए । नगरप्रमुख उपेन्द्रबहादुर थापाले शवलाई प्रहरीले सुरक्षा दिइरहेको र वीरेन्द्रनगरबाट सेनाको टोली आइपुगेपछि व्यवस्थापन गरिने जानकारी दिए । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली खटिएको बताए । रासस

कोरोना विरुद्ध नेपालमा बनेको खोपमा डब्ल्युएचको चासो, आउला प्रयोगमा ?

काठमाडौं । हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशालाका बारेमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले चासो देखाएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको छ । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिए । करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको अध्ययन संस्थानका प्रा दामोदर गैरेले जानकारी दिए । प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । पहिला नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भएको छ । खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको जिकिर गरेका छन् ।