काठमाडौं । नेपालले लगातार १० वर्षदेखि मातृ तथा नवजात धनुष्टंकार (टिटानस) उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सम्मान गरेको छ ।
डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई यो सम्मान प्रदान गरिएको हो । बैठक अहिले टिमोर–लेस्टेको राजधानी डिलीमा भइरहेको छ ।
नेपालको तर्फबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ । डब्ल्यूएचओका महानिर्देशकले डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
डब्ल्यूएचओले गुणस्तरीय खोप सेवा, सुरक्षित प्रसूति अभ्यास र सरकारको निरन्तर प्रतिबद्धताका कारण नेपालले यो उपलब्धि कायम राख्न सफल भएको जनाएको छ । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन अभियानलाई थप बल पुगेको उल्लेख गरिएको छ ।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता भने रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्वास्थ्य प्रतिकार्यमा खटिनुपर्ने भएकाले बैठकमा सहभागी हुन सकिनन् ।
मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीले सिर्जना गरेको स्वास्थ्य संकटबारे जानकारी दिँदै जलवायु परिवर्तनका असर सामना गर्न जलवायु वित्त आवश्यक रहेको बताएकी छन् ।