थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । साेमबार थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनले नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुगेकाे बताए । काेराेना संक्रमण हालसम्म १४ जनाले ज्यान गुमाएका छन् भने ४ सय ८८ जना निकाे भएर घर फर्किएका छन् ।
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सबै सेवा बन्द
भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो । मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिए । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको बताए । अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसी अस्पताल सिनामङ्गलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ । रासस
गोरखा अस्पतालमा भेन्टिलेटरसहित आइसियु सेवा शुरू
गोरखा । गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा शुरु भएको छ । अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सो सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकारमार्फत उपलब्ध गराएको एक करोड रूपैयाँको लागतमा उपकरण खरिद गरी जडान गरिएको उनले जानकारी दिए । पचास श्यया क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो । भेन्टिलेटर र आइसियु सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरस (कोभिड-१९) का कारण गम्भीर बिरामी परेकाहरुलाई समेत अस्पतालमै राखेर उपचार गर्न सकिने उनले बताए । अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लक्षित गरी उपकरण जडान गरेको उनको भनाइ छ । प्रदेश सरकारअन्तर्गत रहेको यस अस्पतालमा अहिले निर्माण गरिएको भेन्टिलेटरसहितको आइसियु दुई श्यया क्षमताको रहेको उनले बताए । प्र्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चैत महिनामा रकम निकास गर्ने भनिए पनि ढिलो गरी बजेट प्राप्त भएकाले सेवा शुरु गर्न केही ढिलाइ भएको जनाइएको छ । सेवा विस्तार भएसँगै कोरोना सङ्क्रमणलगायतका अन्य रोगका कारणसमेत भेन्टिलेटरमा बिरामी राख्नुपर्ने भए अब सिफारिस गरेर पठाउनुपर्ने अस्पतालको बाध्यता हटेको छ । रासस