सिरहाका २० सङ्क्रमित काेराेनामुक्त
लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिए । विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उनले जानकारी दिए । निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाए । बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ । यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै सङ्क्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए । सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईँले बताए । योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । रासस
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ११ हजार ६ सय ३१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १२ हजार ९ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३५ लाख ९४ हजार ९ सय ६० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १४ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ४५ हजार ५ सय २० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार १ सय ४६ पुगेको छ भने अहिलेसम्म ७ हजार ७ सय ५० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ हजार ८६ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
काठमाडाैंका दुई औषधि पसललाई कारवाही, प्रतिपसल दुई लाख रूपैयाँ जरिवाना
काठमाडाैं । बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलबार कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल दुई/दुई लाख रूपैयाँ जरिवाना गरिएको हो । उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।