‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’
काठमाडाैं । ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’, मध्यपुरथिमि नगरपालिकाले आम नागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ । धेरैको नजर आकाशे पुलमा टाँगिएको यो ब्यानरमा ठोकिन्छ तर यसको अर्थ कतिले बुझे होलान् वा कतिले वास्तै गरेनन् । कोरोनादेखि आत्तिनु हुँदैन भन्ने सन्देश प्रवाह गर्न यस्ता प्रचार सामग्री राखेको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ भन्छन्, “रुघाखोकी लाग्दैमा धेरै मानिस आत्तिने गरेका छन्, कोरोना पो भयो कि भनेर अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ, त्यसैले यस प्रकारको सूचना प्रवाह गरेका हौँ ।” रुघाखोकी लाग्दैमा कोरोना हँुदैन है भन्ने सन्देश सबैतिर फैलाउन नसक्दा मानसिक तनाव बढेको र घरपरिवारदेखि टोल समाजमा समेत विभेद हुने गरेको पछिल्ला धेरै घटना आएका छन् । भक्तपुर अस्पतालमा चौतारा साँगाचोकगढीँ नगरपालिका घर भई भक्तपु्रको सल्लाघारीमा बस्ने राधिका खड्का रुघाखोकी लागेपछि घरभेटीदेखि समाजमा समेत विभेदपूर्ण व्यवहार सहनु परेकोे बताउँछन् । रुघाखोकी लाग्दैमा घरभेटीले कोरोना परीक्षण गरेर रिपोर्ट ल्याउन भनेपछि बाध्य भएर परीक्षणका लागि अस्पताल आएको उनी बताउँछन् । खड्का भन्छन्, “अस्पतालले सामान्य रुघा भनेर औषधि दियो, घरभेटी कोरोना परीक्षण गर भन्छन्, आफ्नै घरका परिवार पनि डराएका छन्, बाहिर निस्कदा छिमेकी भाग्छन्, रुघा निको नभएसम्म तनाबले नै बाच्नै गाह्रो भो ।” भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतम कोरोनाको त्रासले मानिसमा मनोरोग बढ्ने खतरा बढ्दै गएको बताउँछन् । उनका अनुसार मानिसमा जनचेतनाको कमीले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भइहाल्यो भनेर आत्तिनै प्रवृत्ति गलत भएको बताउँछन् । डा गौतम भन्छन्, “रुघाखोकी लाग्दैमा कोरोना हँुदैन, कोरोना लागिहाले पनि मरिहालिन्छ भन्ने हैन, कोरोना सङ्क्रमित धेरै निको भएर घर फर्किएको उदाहरण हाम्रो देशमा मात्रै नभई विश्व मै हेर्न सक्छौँ ।” सामान्य मौसमी रुघा लागे पनि आत्तिदै अस्तालमा कोरोना परीक्षण गर्न आउने गरेको सुनाउँदै डा गौतम भन्छन्, “भक्तपुर अस्पतालमा सामान्य रुघाखोकी लागेका मलाई कोरोना भयो कि परीक्षण गर्नुप¥यो भन्दै आउँछन्, अवस्था हेरेर शङ्का लागेकालाई स्वाब लिएर परीक्षणमा पठाउँछाैँ, अन्यलाई रुघाको औषधि र मनोपरामर्श दिएर पठाउँछाैँ, अहिलेको समयमा मनोपरामर्श अत्यावश्यक छ ।” नेपालकोरिया नगरपालिकामैत्री अस्पतालका मेडिकल डाइरेक्टर डा डिके रोशन रुघाखोकी लाग्दैमा कोरोना नहुने र कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्ने भ्रम पाल्न नहुने बताउँछन् । आत्मबलले नै कोरोना जितेको धेरै उदाहरण रहेको बताउँदै डा रौशन भन्छन्, “रुघाखोकी लाग्दैमा मानिस आत्तिँदै अस्पताल जाने, मानसिक तनाब बढी लिने गर्छन्, रुघाखोकी लाग्दैमा कोरोना भइहाल्छ र कोरोना लाग्ने बित्तिकै मरिहालिन्छ भन्ने मानसिकतालाई हटाउनुपर्छ ।” सबै रुघाखोकी कोरोना नहुने र संयमित भएर सुरक्षा अपनाउँदै आत्मबल बलियो बनाउन सके कोरोनालाई जित्न सकिने उनको भनाई छ । सबै रुघाखोकी कोरोना नहुने बताउनुहुन्छ भक्तपुर अस्पतालका वरिष्ठ चिकित्सक डा सुनिल ढुङ्गेल । अहिले मौसमी रुघाखोकी र विभिन्न एलर्जीको रुघाखोकी लाग्ने समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । एउटा स्वास्थ्य र रोग प्रतिरोधात्मक शक्ति बलियो भएको मानिसले रुघाखोकीलाई जितेजस्तै कोरोनालाई पनि जित्न सक्ने उनी बताउँछन् । दीर्घरोगी, शरीरमा पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति कम भएकालाई कोरोनाले अलि समस्या पार्छ । डा ढुङ्गेल भन्छन्, “अहिलेको अवस्थालाई हेर्दा कोरोना सङ्क्रमण भएका ८५ देखि ९० प्रतिशत सामान्य अवस्थामा रहेका छन्, बाँकी १० प्रतिशतमा पनि करिब सात प्रतिशत निको हुन्छन्, जो दीर्घरोगी, शरीरमा कुनै पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति निकै कम भएकाको मृत्यु हुने गरेको छ ।” आफ्नै करेसाबारीमा फलेका तरकारी, घरमा पकाएको सन्तुलित खानेकुरा खाने र जङ्कफुड नखाने गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने उनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुघाखोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, स्वासप्रश्वासमा अत्यधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्नु, निमोनिया हुनुजस्ता लक्षण कोरोनामा देखिन्छ । त्यस्ता बिरामीको नजिक नजाने, नियमित साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक तथा मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर खाने, लक्षण देखिए अस्पताल जाने गरेमा कोरोनाबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।
थप २ सय ७९ जनामा काेराेना संक्रमण देखियाे
काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४३ सय ६५ पुगेकाे छ जसमा ६ सय ७४ जना निकाे भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।
दमौली अस्पतालमा पहिलाेपल्ट सघन उपचारकक्ष निर्माण शुरु
काठमाडौं । जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि कोभिड–१९ अवसर बनेको छ । विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण हुने निश्चित भएको हो । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचारकक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली अस्पतालमा पनि सघन उपचारकक्ष निर्माणका लागि काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । अस्पतालको पुरानो भवनलाई सघन उपचारकक्ष बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । सघन उपचारकक्षका लागि भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । सोही रकमबाट पाँच श्यया क्षमताको सघन उपचार कक्षका लागि पूर्वाधार निर्माण गरिनेछ । अध्यक्ष अधिकारीका अनुसार सघन उपचार कक्षका लागि आवश्यक सामग्री खरिदका लागि रु एक करोड ६९ लाख बजेट विनियोजन भइसकेको छ । बोलपत्र प्रक्रियामार्फत सामग्री खरिद गर्नुपर्ने र बन्दाबन्दीका कारण सामग्री आपूर्तिमा केही कठिनाइ भएको उनको भनाइ छ । “सघन उपचारकक्षका लागि असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, अध्यक्ष अधिकारीले भने । उनका अनुसार कोभिड–१९ अस्पतालमा पूर्वाधार विकासको अवसर बनेको आएको छ । “अस्पतालमा स्तरोन्नति भएको १७ वर्षपछि पहिलोपटक सघन उपचारकक्ष निर्माण हुन लागेको छ, कोभिड–१९ यसका लागि अवसर बनेर आयो”, उनले भने, “कोभिड–१९ को प्रकोप नभएको भए अझै कति वर्षसम्म सघन उपचारकक्ष निर्माण हुन सक्दैनथ्यो होला ।” जिल्लास्तरीय अस्पतालमा नै सघन उपचारकक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडाँै पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । “कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसीयूसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेका छौँ”, अध्यक्ष अधिकारीले भने, “तत्कालका लागि आइसीयूकक्ष कोरोना लक्षित भए पनि भविष्यमा आइसीयू कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।” पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलायसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स/अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन/असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस