नेपालमा थप २ सय ४६ जनामा कोरोना पुष्टि, १११ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४६ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय ३२ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् भने आजसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १११ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
प्लाज्मा थेरापीबाट नेपालमै पहिलोपटक कोरोना संक्रमितको सफल उपचार
काठमाडौं । प्लाजमाथेरापीबाट नेपालमै पहिलाेपल्ट महाराजगञ्जस्थित टिचिङ अस्पतालमा काेराेना संक्रमितकाे उपचारमा भएकाे छ । अस्पतालका काेभिड व्यवस्थापन समितीकाे संयाेजक डा. सन्तकुमार दासले विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको बताए । प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने विधि हो । यस विधि धेरै देशमा प्रयोग भईसकेकाे र नेपालमा भने पहिलाेपटक भएकाे दासले बताए । साे पुरुषमा साउन १० गते अस्पताल भर्ना हुँदा निमाेनियाका बिरामी रहेकाे र हाल उनकाे स्वास्थ्य अवस्थामा धेरै सुधार आएकाे उनले बताए । यससँगै अर्काे एक काेभिड-१९ काे बिरामीकाे पनि यस विधिबाट नै उपचार गर्ने तयारी भईरहेकाे दासले बताए ।
४ हजारमै कोरोना परीक्षण
काठमाडाैं । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब ५ सय ले घटाएको हो । विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क ४ हजार ५ सय बाट घटाएर ४ हजार कायम गरिएको जनाएको छ । प्रारम्भिक परीक्षणको नतिजाअनुसार ४ हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको प्रयोगशालाका प्रमुख विके भण्डारीले जानकारी दिए । सोमबारदेखि घटाइएको शुल्कमा कोरोना परीक्षण गरिने उनले बताए । सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ । “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”, प्रयोगशाला प्रमुख भण्डारीले भने । कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पु¥याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गत मङ्गलबार सो प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको थियो । प्रयोगशालाबाट दैनिक चार हजार २०० बढी नमूना परीक्षण गर्न सकिने प्रमुख भण्डारीले जानकारी दिए । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले बिहीबारदेखि औपचारिकरुपमा आरटी–पिसिआर परीक्षण शुरु गरेको थियो । ललितपुरको कुपण्डोलमा रहेको सो प्रयोगशालामा पाँच थान पिसिआर मेसिन र पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेसिन जडान गरिएको छ । प्रयोगशालाले यसअघि पाँच घण्टामा दिइँदै आएको ‘रिपोर्ट’ अब चार घण्टामा दिने तयारी गरेको पनि उनले बताए । प्रयोगशालाले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गर्दै आएको छ । देशव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले परीक्षणको दायरा र सङ्ख्यालाई दिन प्रतिदिन बढाउँदै लगेको छ । बन्दाबन्दी अन्त्य भएपछि मुलुकभर कोरोना सङ्क्रमणको जोखिम झन बढेको छ । यसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् ।