काठमाडाैं उपत्यकामा एकैदिन ५१ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४३, ललितपुरकाे ३ र भक्तपुरकाे ५ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ। साेमबार देशभर ४१८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ७ सय ५० पुगेको छ।
नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, ३५९ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय १८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ७ सय ५० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना रहेका छन् भने आजसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ३५९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
‘कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने पनि काेराेनाबाट जोगिन सकिन्छ’
काठमाडाैं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्नका लागि एक अर्काबिच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिध भ्याण्डेलरले दुरी कायम गर्न अपील गरेका हुन् । खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गरेका हुन् । उनले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गरेका छन् । त्यस्तै, मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गरेका छन् । ‘कोभिड एक प्रकारको रोग हो यसले हामि सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुदा अर्को व्यक्तिमा संक्रमण भैरहेको छ । यो रोग संक्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्का बीच दूरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं । तर हामीले काम ब्यबहारमा एक अर्का बीच दूरी कायम गर्न सके सक्रमण हुने झिनो सम्भावना मात्र हुन्छ। त्यसैले एक अर्का बीच दूरी बनाउनु धेरै महत्वपूर्ण छ । हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई बिनम्र अनुरोध छ दूरी बढाऊ संक्रमित बाट जोगीऔँ ।’- उनले भने ।