धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए । प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।” मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । रासस

सबै अस्पतालहरुलाई काेराेनाका बिरामीकाे लागि २० प्रतिशत बेड छुटाउन आदेश

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पताललाई काेभिड-१९ बिरामीकाे लागि २० प्रतिशत शैया छुटाउन आदेश दिएकाे छ । मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा साेमबार प्रवक्ता प्रा.डा जागेश्वर गाैतमले हरेक अस्पतालले काेभिड-१९ बिरामीकाे उपचारकाे लागि २० शैया छुटाउनु पर्ने बताएका हुन् । ‘सबै निजि सामुदायिक सरकारी गैर सरकारी अस्पतालहरुले आफ्नाे अस्पतालमा २० प्रतिशत शैया काेभिड बिरामीहरुकाे लागि छुट्याई सम्बन्धित हब अस्पतालबाट स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने र हब अस्पताल भित्रकाे स्याटलाईट अस्पतालका बिरामीहरुकाे व्यवस्थापन हब अस्पतालले नै गर्ने सुचना जारी गरिएकाे छ,’ गाैतमले भने ।  

साेमबार काठमाडाैं उपत्यकामा ४४ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ३६, ललितपुरकाे ४ र भक्तपुरकाे ४ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९४८ ललितपुरमा १४३ र भक्तपुरमा ८९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११७२ पुगेको छ । आईतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ३ सय १० पुगेको छ ।