आज थप ३ सय ७८ जनामा काेराेना देखियाे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ७८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ५ सय ९२ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन् भने आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । शनिबार थप ३ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी

काठमाडाैं । बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ । उनी धौलागिरि अस्पतालमा भर्ना गरी उपचाररत छन् । यस्तै साउन १० गते बागलुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको थियो । दुवै जना अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्कनुभएको अस्पतालले जनाएको छ । बागलुङमा गत वर्ष सात जनामा स्क्रब टाइफसका बिरामी फेला परेका थिए । स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ । केही वर्षअगाडि सम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा मात्रै देखिँदै आएकामा पछिल्लो समय शहरी इलाकामा पनि देखिँदै आएको छ । नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ । स्क्रब टाइफस भएका मानिसमा उच्च ज्वरो आउने र कामज्वरोसमेत आउन सक्दछ । टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिमिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन् । रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ । यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । रासस

दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ । महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र ५० शैयाको क्वारेन्टिन भवन बनाउने निर्णय गरेको हो । महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टिन भवन बनाउन लागिएको बताए । “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टिन भवन बनाउने निर्णय गरिएको छ । त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ” उनले भने । उनका अनुसार क्वारेन्टिन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ । भवन निर्माणका लागि रु एक करोड बढी बजेट लाग्ने अनुमान गरिएको छ । शिक्षण संस्था सञ्चालन हुने भएपछि विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्पमा छुट्टै क्वारेन्टिन भवन बनाउन लागिएको हो । यसअघि महाकालीका ३३ विद्यालयमा क्वारेन्टिन राखिएको थियो । तीमध्ये अहिले भानु बहुमुखी क्याम्पसको क्वारेन्टिन मात्रै सञ्चालनमा छ । महाकालीका प्रवक्ता सिजालीले क्वारेन्टिन भवन तयार नभएसम्म कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने बताए । महाकाली नगरपालिकाले आइसोलेसन कक्ष यस वर्ष मात्रै सञ्चालन गर्न लागेको हो । रासस