चितवनकाे क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले बताए । अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागका बहिरङ्ग सेवाबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्दछन् । विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् ।
चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति
चितवन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने, “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएलस्तरको भनिने उनको भनाइ छ । प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताए । रासस
दमकका सबै अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द
दमक । दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।