उपत्यकामा ५७२ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय ७२ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ४९५, ललितपुरको ४३ र भक्तपुरको ३४ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ८ हजार ३ सय ६ ललितपुरका १०५४  र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्। आज देशभर १२४६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

थप १२ सय ४६ जनामा काेराेना संक्रमण देखियाे, हालसम्म संक्रमित हुनेकाे स‌ंख्या ५० हजार नाघ्याे

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ । हाल क्वारेन्टिनमा ५ हजार ८ सय ६ जना रहेका छन् भने आजसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १८१८ जना निकाे भएसँगैं हालसम्म ३५ हजार ७ सय जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३१७ पुगेकाे छ ।

राष्ट्रिय आविष्कार केन्द्रले बनायाे कोरोना सङ्क्रमितलाई सुरक्षित अस्पताल लैजाने बाकस

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लोपटक कोरोना सङ्क्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजान बाकस निर्माण गरेको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना सङ्क्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको केन्द्रका अध्यक्ष महावीर पुनले बताए । उनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पूरा भएको बताउँदै यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने र चेन लगाएर बन्द गर्न सकिन्छ भने । उनका अनुसार बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन–९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिन्छ । बाकसभित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पङ्खा जडान गरिएको छ । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको बताइएको छ । अबको केही दिनभित्रै कोभिड—१९ को उपचार गर्ने अस्पताललाई यो बाकस उपलब्ध गराइने अध्यक्ष पुनको भनाइ छ । रासस