आज एक हजार ८१ काेराेना संक्रमित थपिए, ६ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८१ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २ सय १३ जना पुगेको छ । हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन् भने आजसम्म ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९१८ जना निकाे भएसँगैं हालसम्म ३३ हजार ८ सय ८२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३१२ पुगेकाे छ ।
स्वास्थ्य मन्त्रालयद्वारा ६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् । अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गरेका थिए । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् । ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ । ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो ।
दैलेखमा भेन्टिलेटर सेवा सुरु: अब जिल्लामै गम्भीर प्रकृतिका बिरामीको उपचार
दैलेखमा । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले आपत्कालीनावस्थामा रहेका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको सेवा सञ्चालनमा ल्याएको छ । गम्भीर खालका बिरामीको जिल्लामै उपचार गर्ने उद्देश्यले पाँच महिना अगाडि खरीद गरिएको भेन्टिलेटर जनशक्ति अभावले रोकिएको भए पनि अब सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्थले जानकारी दिए । अब जिल्लामै गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहजता भएको छ । बर्खा याममा सर्पले टोकेका बिरामीलाई समेत जिल्लामै उपचार गर्न सफल भएको बताइएको छ । जनसङ्ख्याका हिसाबले कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखका छिमेकी जिल्ला जाजरकोट, कालीकोट आसपासका जनतासमेत यहाँ सेवा लिन आउने गरेका छन् । यस वर्षदेखि तीनवर्षे दीर्घकालीन योजनानुसार कर्णाली प्रदेश सरकारले रु ४१ करोड लागतमा अत्याधुनिक अस्पताल निर्माणको काम शुरु गर्ने तयारी गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा पन्थले जानकारी दिए । सोको विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिसकिएको छ । सरकारले क्रमागत बजेट विनियोजनसमेत गरिसकेको छ । गत वर्ष बोलपत्र लागि रकम आए पनि कोरोना कहरका कारण काम हुन नसकेको र यस वर्षदेखि काम शुरु गरिने पन्थको भनाइ छ । पाँच शय्यामध्ये तीन वटा सघन उपचार कक्षका लागि प्रयोग गरिएको तथा दुईमा भेन्टिलेटर सेवा सञ्चालन गरिएको छ । आवश्यक जनशक्ति र अक्सिजन प्लान्ट जडान हुन सके सधैँभरि सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अहिले अस्पतालमा फिजियोथेरापी सेवासमेत सञ्चालनमा छ । विभिन्न रोगको शल्यक्रियासमेत हुने गरेको छ । सामाजिक सेवा एकाइ सञ्चालन गरेर हिंसामा परेका महिलाको सुरक्षा, उपचार सेवा, कानूनी सेवालगायत सबै सेवा एकै स्थानबाट प्रदान गर्ने कार्य पनि शुरु गरिएको छ । रासस