पर्यटनमन्त्री योगेश भट्टराईमा कोरोना देखियाे

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘गत सोमबार कोरोना परिक्षाण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो,  त्यसक्रममा काठमाडाैं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ, हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो, आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

शनिबार नेपालभर ५ हजार ८ जना काेराेना संक्रमित थपिए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा उपत्यकामा मात्र २६७२ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या ३० हजार ८ सय १८ पुगेकाे छ । नेपालमा आजसम्म ११ लाख ६४ हजार ५ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२२९ जना निकाे भएसँगैं हालसम्म ७४ हजार २५२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ६१४ पुगेकाे छ ।

डा. केसीकाे समर्थनमा प्रदर्शन

काठमाडाैं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाई छ । प्रदर्शनमा सहभागि वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा रोकिएको बताए । प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भएपनि आफुहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई भएको उनले बताए । माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन । सरकार र डा केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाई रहेको छ । केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ ।