भाेजपुरकाे सबै स्थानीय तहमा कोभिड अस्पताल निर्माण सुरु

भाेजपुर । भोजपुरका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि स्थानीय तहरुले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका–६ र हतुवागढी गाउँपालिका–४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका छन् । केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने, “केन्द्रबाट आएको जानकारीअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौँ, वडा नं ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दरखास्त माग गरिएको छ ।” पौवादुङमा गाउँपालिकाले भने आवश्यक स्वास्थ्यकर्मीको समेत छनोट सम्पन्न गरेर केन्द्रबाट आएको परिपत्रअनुसार कामको थालनी गरेको जनाएको छ । वडा नं ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याबसमेत सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, “हाम्रो कोभिड अस्थायी अस्पताल निर्माणका लागि काम अघि बढिसकेको छ, केन्द्रबाट १० लाख बजेट आएको छ, त्यसले ल्याब स्थापना गर्न रकम कम भएपछि गाउँपालिकाले नै ल्याब स्थापना गरेर दशैँअघिसम्ममा सञ्चालनमा ल्याउने तयारीमा छौँ ।” निर्माण हुन लागेको अस्पतालमा अक्सिजनसहित पाँच शैय्या रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिइन् । त्यस्तै टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाले पनि प्रक्रियामा लागेको जनाएका छन् भने अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माणको काम थालनी गरेका छन् । रासस

स्नायु प्रणालीमा समस्या देखिएपछि कोभिड–१९ खोपको परीक्षण स्थगित

न्यू ब्रन्सवीक/ कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका क्रममा सहभागीमा कुनै किसिमको स्वास्थ्य समस्या आउनु स्वाभाविक रहेको जनाएको छ । खासगरी खोपमा सहभागीहरुको ठूलो संख्या भएपछि एकाध व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ, कम्पनीले भनेको छ । कम्पनीका फिजिसियन र सुरक्षा अनुगमन समूहले ती व्यक्तिमा देखिएका स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्ने बताएको छ । खोप लगाएका व्यक्तिको निजी गोपनीयताको संरक्षण गर्ने भन्दै कम्पनीले ती व्यक्तिका बारेमा केही बताएको छैन । अमेरिकामा ठूलो संख्याका व्यक्तिमा यो खोप लगाइएको छ । ठूलो मेडिकल अध्ययनमा अस्थायी रोकावटलाई सामान्य रुपमा लिइने गरिन्छ । कम्पनीहरुले औषधिको परीक्षणका क्रममा व्यक्तिमा देखिने गम्भीर वा अनपेक्षित प्रतिक्रियालाई अनुसन्धान गर्नुपर्ने हुन्छ । जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको सम्बन्धी पहिलो समाचार स्ट्याटले दिएको थियो । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा तयार पारेको खोपको अन्तिम चरणको परीक्षण अहिले अमेरिकामा रोकिएको छ । अमेरिकी अनुसन्धाताहरुले खोपले मानिसमा कुनै स्वास्थ्य जोखिम निम्त्याउने हो वा होइन भन्ने अध्ययन गरिरहेका छन् । अस्ट्राजेनिका–अक्सफोर्डको खोप लगाएकी एक महिलामा स्नायुप्रणालीमा समस्या आएपछि खोप परीक्षण स्थगित गरिएको थियो । तर यस खोपको परीक्षण अन्य मुलुकमा जारी रहेको छ । जोन्सन एन्ड जोन्सनले खोपको एक डोजले नै कोरोनाभाइरसबाट सुरक्षा दिने गरी तयार पारेको आफ्नो खोपमा ६० हजार व्यक्तिलाई सहभागी गराउने लक्ष राखेको छ । अमेरिकाका अन्य कम्पनीले भने कोरोनाभाइरसबाट सुरक्षित राख्न व्यक्तिलाई खोपको दुई डोज लगाउने गरी खोप निर्माण गरिरहेका छन् । रासस

काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन टेष्टकाे शुल्क १ हजार ताेकियाे

काठमाडाैं । सरकारले काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणकाे अधिकतम शुल्क १ हजार ताेकेकाे जानकारी दिए । असाेज १५ गते बसेकाे मन्त्रिस्तरिय बैठकले एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे गाैतमकाे भनाइ छ । करिब १ घण्टाभित्रमा नतिजा आउने यस परीक्षण विधिले तत्काल अपरेसन गर्नुपर्ने अवस्थामा निकै सहयाेग पुराउने उनले बताए । गाैतमले यसमा प्रयाेग हुने किट एफडिए र इयुए मान्यता प्राप्त किट वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्ने बताए । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट अनुमति प्राप्त ल्याबले मात्र यसकाे परीक्षण गर्ने पाउने उनकाे भनाइ छ । नेपालमा पनि एन्टिजेन परीक्षण गर्ने भनेर सरकारले असाेज २० गते निर्णय गरेकाे थियाे । विशेष गरेर अमेरिका र उत्तर काेरियामा प्रयोग भएकाे यस परीक्षणमा स्वाब लिएर परीक्षण गरिन्छ तर यसकाे नतिजा छिटाे हुनुकाे साथै र ठीक हुने सम्भावना ८५ देखि ९० प्रतिशत रहेकाे छ । जबकि पीसीआरकाे नतिजा आउन विभिन्न कारण लामाे समय लाग्नुकाे साथै ठिक हुने सम्भावना पनि ७० प्रतिशत मात्र रहेकाे छ । पीसीआरको विकल्प हो ? कुनै पनि व्यक्तिको शरीरमा कोरोना छ कि छैन भनेर पत्ता लगाउनको लागि नेपालमा हाल पीसीआर परीक्षण गरिन्छ । नतिजा आउन पनि समय लाग्ने यस परीक्षण जटिल र महंगो रहेको छ । यद्यपि, यो परीक्षणलाई हालसम्मकै विश्वासिलो परीक्षण गर्ने प्रविधि मानिन्छ । तर, यस परीक्षणको नतिजा आउन समय लाग्ने गरेको कारण तत्काल उपचार गराउनु पर्ने बिरामीहरु उपचार नपाएको तथ्यहरु सार्वजनिक भइरहेका छन् । स्वास्थ्यकर्मीले कोरोना परीक्षणको नतिजा नआएसम्म अपरेसनहरु सुरु नर्गेन कारणहरु पनि पीसीआर प्रविधि तत्काल उपचार गरिहाल्नुपर्ने बिरामीका लागि समस्या जस्तै बनेको छ । करिब ६ देखि ७ घण्टामा नतिजा दिने यस विधिमा विभिन्न कारण नतिजाहरु ढिलो आउने गर्छ, जसकारण केही बिरामीहरुले ज्यान समेत गुमाउन पुगेका छन् । के हो एन्टिजेन बेस्ड टेष्टिङ ? सरकारले गत असोज २० गतेदेखि निकै छिटो नतिजा दिने एन्टिजेन बेस्ड टेष्टिङ सुरु गर्ने निर्णय गरेको थियाे । प्रवक्ता प्राडा. गाैतमले हालसम्म कतैबाट यसलाई अनुदानको रुपमा पाइन्छ कि भनेर खोजिरहेको बताए । गौतमको अनुसार एन्टिजेन बेस टेष्टिङ पीसीआर जस्तै शरीरमा कोरोना भाईरस छ कि छैन भनेर पत्ता लगाउने परीक्षण हो । यो निकै छिटो नतिजा दिने विधि भएको गौतमको भनाइ छ । ‘भाइरसमा एन्टिजेन हुन्छ, जब शरीरमा भाइरसले प्रवेश गर्छ, त्यो ‘मल्टिप्लाई’ हुन्छ, यदि त्यतिखेर मानिसको शरीरबाट स्वाबलाई लिएर टेष्ट गर्ने हो भने त्यसको नतिजा पोजेटिभ आउँछ । यस अगाडि प्रयोग भएको आरडिटी विधी भने त्यही एन्टिजेनसँग लड्नको लागि शरीरले उत्पादन गर्ने एन्टिबडिको परीक्षण हुने हो, जुन हाल सर्वेक्षणहरुका लागि मात्र प्रयोग हुन्छ,’ उनले भने । गौतमका अनुसार एन्टिजेन्ट बेस्ड टेष्टिङले बढिमा १ घण्टामा नतिजा दिने गर्छ । पीसीआर परीक्षणको नतिजा आउन विभिन्न कारणले २४ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । विशेष गरेर अमेरिका र उत्तर कोरियाले यस्तो परीक्षणलाई प्रयोगमा ल्याएका छन् । पीसीआर परीक्षणबाट सही नतिजा आउने सम्भावना करिब ७० प्रतिशत रहे पनि एन्टिजेन बेस्ड टेष्टिङको सही नतिजा आउने सम्भावना ८५ देखि ९० प्रतिशत रहेको प्राडा. गौतमले बताए । ‘एन्टिजेन टेस्टिङले भाइरस नभएर त्यसको एन्टिजेन पत्ता लगाउने हो । यदि यस परीक्षण गर्दा नतिजा पोजेटिभ आयो भने त्यो पोजेटिभ नै हो । तर यदि कुनै मानिसको नतिजा नेगेटिभ आयो तर उसमा कोरोना सम्बन्धित लक्षण छ भने त्यसलाई पीसीआर गर्नुपर्छ,’ गौतमले भने । एन्टिजेन परीक्षणको लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा बढी भए सही नतिजा आउने सम्भावना अधिक हुने जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दिक्षित बताउँछन् । ‘एन्टिजेन परीक्षणका लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा कम छ भने यसले सही नतिजा देखाउने सम्भावना कम हुन्छ,’ जनस्वास्थ्य वैज्ञानिक डा दिक्षितले भने । यस परीक्षणमा श्वाव निकाल्न बाहेक बाँकी काममा सामान्य जनशक्तिले पनि गर्न सक्ने दिक्षित बताउँछन् । एन्टिजेन बेस्ड टेष्टिङ मुख्य गरेर ३ वटा अवस्थामा, पहिलो आर्मी ब्यारेकहरु, दोस्रो धेरै मानिसलाई एकै ठाउँमा परीक्षण गर्नुपरे र तेस्रो तुरुन्त कोही मान्छेको अपरेसन जस्ता उपचार गर्नुपर्ने व्यक्तिहरुमा एन्टिजेन टेस्टिङ हुने प्राडा गौतमले बताए ।