शुक्रबार चार हजार ३९२ काेराेना संक्रमित थपिए, २१ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप चार हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप चार हजार ३९२ जना र उपत्यकामा मात्र २४०२ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३७ हजार ३ सय ८२ पुगेकाे छ । नेपालमा आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३५२२ जना निकाे भएसँगैं हालसम्म ८८ हजार ४० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ७१५ पुगेकाे छ ।
शुक्रबार प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई/दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङका दुई÷दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित
गण्डकी । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।