लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गरिदिने

काठमाडाैं । सरकारले सिमित वर्गकाे मात्र काेराेना परीक्षण निशुल्क गरिदिने भन्दै गर्दा लुम्बिनी प्रदेश सरकारले भने काेराेना संक्रमितकोकाे उपचार निशुल्क नै गर्ने जनाएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जनाएका हुन् । पाेखरेलले उनकाे फेसबुक स्टेटस मार्फत यस्ताे जानकारी दिएका हुन् । यसअघि सरकारले सबै नेपालीकाे लागि निशुल्क गरेकाे काेराेना उपचार शुल्क कात्तिक २ गतेदेखि लागु हुने गरी सशुल्क गराएकाे छ । सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई मात्र निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको छ ।

साेमबार तीन हजार ७९० काेराेना संक्रमित थपिए, उपत्यकामा मात्रै २३८८ थपिए

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ७९० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप तीन हजार ७९० जना र उपत्यकामा मात्र २३८८ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ४० हजार ७ सय ७८ पुगेकाे छ । नेपालमा आजसम्म १३ लाख ९१८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३३५ जना निकाे भएसँगैं हालसम्म ९४ हजार ५ सय १ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ७५७ पुगेकाे छ ।

विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड नाघ्याे

काठमाडाैं । विश्व कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९९ लाख ६७ हजार ७३६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये करिब ३ करोड व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८१ लाख ५० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख १९ हजार ६७४ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७५ लाख ५० हजार २७३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । कोरोना सङ्क्रमणबाट १ लाख १४ हजार ६१० जनाको मृत्यु भएको छ । विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६६ लाख ६३ हजार ६०८ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । ब्राजिलमा ५२ लाख २४ हजार ३६२ व्यक्ति कोरोना सङ्क्रमित रहेका भने एक लाख ५३ हजार ६७५ जनाको मृत्यु भएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ६ हजार ५०४ जना सङ्क्रमित रहेका भने २४ हजार २१२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।