नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण
काठमाडाैं । नविल बैंकका सीईओ अनिल केशरी शाहलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । शाहलाई आइतबार काेराेना संक्रमण पुष्टि भएकाे हाे । शाहले सामाजिक संजाल मार्फत आफुलाई संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन् । बुधबार बास्न गुमेपछि उनले पिसिआर परीक्षण गराउँदा उनकाे नतिजा नेगेटिभ आएकाे थियाे तर बास्न गुमेकै कारण उनी चिकित्सककाे सल्लाह अनुसार घरमै आइसाेलेसनमा बसेका थिए । फेरी शनिबार पुन: परीक्षण गराउँदा भने नतिजा पाेजेटिभए आएकाे उनले बताए । शाहले आफुलाई बास्न गुमेकाे बाहेक अन्य केही लक्षण नभएकाे र हाल हाेम क्वारेन्टिनमा बसेकाे बताएका छन् । ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा देखियाे काेराेना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताए । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ । आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।
अमेरिकामा कोभिड सङ्क्रमितकाे संख्या ८० लाख नाघ्याे
न्युयोर्क । अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख नाघेकाे छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो । अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ । उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । रासस, एएनआई