दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले पनि बजार क्षेत्रको अनुगमन गरेका थिए । महाकली नगरपालिकामा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलले बताए । आज मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २५० नाघेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ । सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बङ्गाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ । सुरक्षा मापदण्ड नपनाउँदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्ट बताउँछन् । मङ्गलबार मात्रै दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वकर्मचारीसमेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेसनमा बसिरहेकाले समुदायस्तरमा फैलिन नदिन सिल गरिएको हो । दशैँ, तिहारका कारण बजार क्षेत्रमा भीडभाड भने यथावत छ । बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भीड बढेको हो । भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भीड बढेको छ । पेन्सन बुझ्नेहरुका लागि तीन दिन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुला गरिएको छ । अहिले धनगढी, काठमाडौँ र भारतका विभिन्न शहरबाट आउने व्यक्ति क्वारेन्टिन नबसी सिधैँ गाउँ पठाइँदा गाउँमा समेत सङ्क्रमणको जोखिम बढेको छ । रासस

बेड नहुँदा सङ्क्रमित ज्यान गुमाउँदै

धरान । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पु¥याउनेबित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी दिए । धरान २ का ८९ वर्षीय पुरुषको पनि गत सोमबार बिहान होम आइसोलेशनमै मृत्यु भयो । अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भनिएपछि परिवारले घरमै राख्यो । एक साताअघि धरान–८ का ५२ वर्षीय पुरुष धरानस्थित बिपी प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल पुगेका उनलाई कोरोना सङ्क्रमण भयो । प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनको ज्यान गयो । धरानमा मात्र अस्पताल जान नपाई १३ जनाको होम आइसोलेशनमा मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् । प्रतिष्ठानको तथ्याङ्कअनुसार मंगलबार बिहानसम्म ६६ संक्रमितले ज्यान गुमाएको प्रतिष्ठानका सहप्रवक्ता डा शाशिष श्रेष्ठले जानकारी दिए । प्रदेश नं १ मा सोमबार साँझसम्म मृतकको संख्या १३६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । प्रदेश सरकारले गत जेठमै दुई हजार श्ययाको आइसोलेशन वार्ड बनाउने घोषणा गरे पनि अहिलेसम्म काम शुरु भएको छैन । प्रत्येक स्थानीय तहमा १५ शय्याको आइसोलेशनसहितको अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले सञ्चालन गर्न सकेका छैनन् । बिरामीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ । प्रतिष्ठानले बिरामीको चाप थेग्न नसक्ने भनी सम्पर्क गरेर मात्र ल्याउन अस्पताल प्रशासनले १५ दिनअघि सूचना नै जारी गरेको थियो । बिरामी धान्न नसकेको जनाई अस्पताल प्रशासनले स्थानीय तहहरुलाई लकडाउन गर्नसमेत सुझाव दिएको थियो । पछिल्लो समय सङ्क्रमित चौगुना बढेका छन् । एक साताअघिदेखि धरानमा दैनिक संक्रमितको सङ्ख्या बढेर गएको छ । सोमबार ८९ र मंगलबार २०६ जनामा सङ्क्रमण पुष्टि भयो । पिसिआर परीक्षणको दायरा घटाइए पनि संक्रमितको दर भने बढेर गएको छ । दशैँका लागि किनमेल गर्नेले स्वास्थ्य मापदण्ड बेवास्ता गर्दै बजार–पसलमा भीड गरेकाले अझ भयावह अवस्था आउने चिकित्सक बताउँछन् । अझै तीव्र रूपमा संक्रमितको संख्या बढ्ने जोखिम रहेको उनीहरुको भनाइ छ । संक्रमण वृद्धिअनुसार प्रदेश सरकार र स्थानीय तहहरुको तयारी भने नदेखिएको चिकित्सकको भनाइ छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले लक्षणसहितका बिरामी बढ्दो क्रममा रहेको र मृत्यु संख्या बढेको बताए । प्रतिष्ठानका करीब तीन सय चिकित्सक, कर्मचारी र नर्स सङ्क्रमित भएका छन् । ‘अबको अवस्थामा धेरै संक्रमित भेन्टिलेटर नपाएर मृत्यु हुने सम्भावना बढेको छ । प्रतिष्ठानमा भेन्टिलेटरको आवश्यकता छ तर स्रोतसाधनको अभाव छ’, डा साहले भने । प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा १० भेन्टिलेटर राखिए पनि ६ वटाले जडान गर्दै काम नदिएर ठेकेदार कम्पनीलाई बनाउन फिर्ता गरिएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेकाले आवश्यक व्यवस्थापन गर्न प्रदेश सरकार जुटिरहेको बताउनुहुन्छ । स्विस दूतावाससँग कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक उपकरणलगायत सामग्री दिने सहमति गरिएको उनले जानकारी दिए । केही दिनमा १० आइसियु सेट आइपुग्ने उनको भनाइ छ । निजी अस्पताललाई पनि कोरोना संक्रमितका लागि आइसोलेसनसँगै सघन उपचार कक्ष र भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन जारी गरिएको उनको भनाइ छ । उनले बिहीबार प्रतिष्ठान पुगेर कोभिड अस्पताल व्यवस्थित गर्न निर्देशनसमेत दिए । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा आठ आइसियु र पाँच भेन्टिलेटर, प्रतिष्ठान धरानमा १५ आइसियु र १० भेन्टिलेटर तथा झापाको मेची अस्पतालमा १० आइसियु र दुई भेन्टिलेटर छन् । यस्तै निजीतर्फ विराटनगरस्थित नोबेल अस्पतालमा दश आइसियु र तीन भेन्टिलेटर, विराट् मेडिकलमा आठ आइसियु र दश भेन्टिलेटर तथा न्युरोमा आठ आइसियु र दुई भेन्टिलेटर छन् । प्रदेशमा कुल ४६ आइसियु र ३२ भेन्टिलेटरको व्यवस्था भएको सामाजिक विकास मनत्रालयले जनाएको छ । प्रतिष्ठानमा रहेका १० मध्ये छ भेन्टिलेटर काममा आएका छैनन् । प्रदेश नं १ मा ३३ ठाउँमा गरी एक हजार ५३१ आइसोलेशन वार्ड स्थापना गरिएको छ । सोमबार साँझसम्म सात हजार ८१३ जना संस्थागत आइसोलेशनमा र बाँकी संक्रमित होम आइसोलेशनमा बस्दै. आएका छन् । सामाजिक विकास मनत्रालयको तथ्याङ्कअनुसार हालसम्म एक लाख ४७ हजार ९९४ जनमा पिसिआर परीक्षण गर्दा सङ्क्रमितको संख्या १३ हजार ९८८ पुगेको छ । हालसम्म ६ हजार ३९ जना निको भएर घर फर्केका छन् । रासस

सुदूरपश्चिम सरकारले पनि कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने

काठमाडाैं । सुदूरपश्चिम सरकारले पनि कोरोना बिरामीको निःशुल्क उपचारलाई निरन्तरता दिने भएकाे छ । संघिय सरकारले लक्षित वर्गकाे बाहेकाे अन्यकाे उपचार गर्दा शुल्क लाग्ने बताए पनि सुदूरपश्चिम सरकारले भने कोरोना बिरामीको निःशुल्क उपचारलाई निरन्तरता दिने भएका छन् । मंगलबार मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकाी दिएका थिए । यसअघि सरकारले सबै नेपालीकाे लागि निशुल्क गरेकाे काेराेना उपचार शुल्क कात्तिक २ गतेदेखि लागु हुने गरी सशुल्क गराएकाे हाे । सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई मात्र निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको छ ।