बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् । शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताएका हुन् । डा उप्रेतीले घर र वरिपरि पाइने खानालाई छाडेर पत्रु खाना खाएर स्वास्थ्य बिगार्ने वा खाना नखाएर कुपोषित हुने स्थिति ल्याउने अभिभावकले जानी नजानी आफ्ना बच्चाको जीवन बर्बाद पारिरहेको टिप्पणी गरे । उनले भने, “गरीब हुँदैमा खान नसक्ने भन्ने हुँदैन, आफ्नो स्थानीय उत्पादन र घरको खाना खान सकिन्छ, चाउचाउ खान सक्नेले आलु पोलेर खान सक्छ, कोदो र फापर खाएर अझ पोषिलो बन्न सक्छ ।” डा पाण्डेले सबै स्थानमा विद्यालय खोल्ने स्थिति अझै नभएको र खोल्नु परेमा अनिवार्य मास्क लगाउने, हात धुने र सेनिटाइजर लगाउन छोड्न नहुने सुझाव दिए । उनले शहरी क्षेत्रमा अन्य व्यवसाय खुले पनि विद्यालय खुलेमा र जनस्वास्थ्यका मापदण्ड पालना नभएमा विद्यालयबाट समुदायस्तरमा दोस्रो लहरको महामारी फैलन सक्ने बताए । शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विज्ञहरुका सुझावका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरी शैक्षिक क्रियाकलाप अघि बढ्नुपर्ने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका सचिव देवी खड्काले जनस्वास्थ्यका विषयवस्तुबारे अभिभावकलाई सचेतना फैलाउन आवश्यक रहेको जनाउँदै महासङ्घबाट पनि कार्यक्रम सञ्चालन गरिएको बताए । काठमाडौंको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले विद्यालयमा नर्सको समेत व्यवस्था भएकाले पत्रु खाना निषेध गराइएको जानकारी दिए । ललितपुरको आदर्शशौल युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्यले दैनिक तीन सत्रमा सञ्चालन हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन भइरहेको बताए ।
कर्णालीका तीन जिल्लामा काेराेना सङ्क्रमितको सङ्ख्या शून्य
कर्णाली । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत सङ्क्रमित हाल निको भई घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात हजार ३५७ पुगेको जानकारी दिए । आरडिटी र पिसिआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा सङ्क्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक÷एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा
भक्तपुर । भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए । गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो । अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दङ्ग देखिएका छन् । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पताल सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अवस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको चर्चा गरे । स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पु¥याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिए । स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरवासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताए । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे सचित्र अवगत गराए । गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उनले सम्पूर्ण स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले भक्तपुर अस्पतालको गत वर्षको अङ्कले निरास बने पनि यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै यसलाई कायम राख्नु र थप प्रगति गर्नु अस्पतालको लागि चुनौती थपिएको बताए । त्यसअवसरमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री, धादिङ अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झा, जनस्वास्थ्य निरीक्षक रेवती थापा, एनएसआइका कार्यक्रम अधिकृत सुशील बस्नेत, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलगायतको सहभागिता रहेको थियो । भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतमको सक्रियता र उहाँको अस्पताल सञ्चालन तथा विकास समितिको नेतृत्व गरिरहेका मिलन सुवालसँगको तालमेलसँगै भक्तपुर अस्पतालले स्थापना र सञ्चालनको इतिहासमै ठूलो विकास गरेको हो । अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै दुई दर्जन बेडसहित अस्पतालले एचसियु सञ्चालन गरेको छ । भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ । यसअघि रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । यसअघि भक्तपुर अस्पताल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियो । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनोट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो । रासस