कोरियामा कोरोनाको तेस्रो महामारीः ४ भन्दा बढी भेला हुन नपाइने

सउल । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ । यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ । यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागू छ । पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दिो तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागू गरिने भएको छ । दक्षिण कोरियामा एक हप्तादेखि लगातार दैनिक सङ्क्रमितको सङ्ख्या एक हजार बढी नाघ्न थालेपछि अस्पतालमा शय्या अभाव हुन थालेको छ । सरकारले नियन्त्रणस्वरूप सामाजिक दूरीलाई थप कडा पार्दै आइरहेको छ । दक्षिण कोरियामा हालसम्म सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । जनवरीको अन्तिमदेखि कोरियाले पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । दक्षिण कोरिया सरकारले आगामी जनवरीको अन्त्यदेखि कोरोनाविरुद्ध खोप लगाउने तयारी गरेको छ । सरकारी स्वास्थ्य अधिकारीका अनुसार पहिलो चरणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीमा खोप दिइने बताइएको छ । कोरियाले आपत्कालीन प्रयोगका निमित्त प्रारम्भिक आपूर्तिस्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको दुई करोड ५० लाख मात्रा खोप प्राप्त गर्नेछ । हाल कोरिया उक्त खोपको अन्तिम स्वीकृतिको पर्खाइ छ ।

कोभिड सङ्क्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी

काठमाडाैं । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्ख्या घटेको हो । कोभिड–१९ को सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार ५०० हाराहारीका बिरामीलाई बहिरङ्ग सेवा (ओपिडी) प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक एक हजार ५०० हाराहारीमा मात्र बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी अस्पतालमा पुगेपछि कोरोना सङ्क्रमण दर फैलिने डरका कारण पनि बिरामी घरमै बसेकाले अस्पतालमा बिरामीको सङ्ख्या घटेको बताउनुहुन्छ । छ सय ६२ श्ययाको यस अस्पतालले कोभिड–१९ को बिरामी उपचारका लागि १०० श्यया छुट्याएको थियो । यस अस्पतालले सरकारले बन्दाबन्दी गरेको समयमा पनि सबै सेवा प्रदान गरेको थियो । कोभिड–१९ सङ्क्रमण अगाडि विभिन्न रोगका दैनिक ४० वटासम्म शल्यक्रिया गरेको टिचिङले अहिले जम्मा १० वटासम्म शल्यक्रिया गर्दै आएको छ । यस्तै सुत्केरी महिलाका लागि भने नियमित शल्यक्रिया र प्रसूति सेवा प्रदान गरिएको थियो । विभिन्न सङ्घसंस्था तथा सरकारी सहयोगका कारण कोभिडको उपचारमा यस अस्पतालले कुनै पनि समस्या भोग्न नपरेको प्रवक्ता अधिकारीको भनाइ छ । चार सय ६० श्यया रहेको वीर अस्पतालले कोभिड–१९ का बिरामीका लागि १६० श्यया छुट्याएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय बिरामी घटेसँगै कोभिड श्ययासमेत घटाएको छ । अस्पतालका नर्सिङ डाइरेक्टर गोमादेवी निरौला वीर अस्पतालले एकैपटक १२० कोभिड बिरामीको उपचार गरेको बताउँछिन् । “चाहिएको बेलामा स्वास्थ्य सामग्री नपाउँदा उपचारमा समस्या भयो”, उनी भन्छन् । वीर अस्पतालमा कोभिड–१९ सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार हाराहारीमा बहिरङ्ग सेवाका लागि जाने गरेका थिए । कोभिड सङ्क्रमणका समयमा ओपिडी सेवाका लागि दैनिक २०० बिरामी जाने गरेकामा अहिले विस्तारै बढेर एक हजार हाराहारी जाने गरेको अस्पतालले जनाएको छ । निजी लगानीमा सञ्चालित अस्पतालले भने कोभिड–१९ को समयमा प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न सकेनन् । टोखामा रहेको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले कोभिडको समयमा बिरामी नहुँदा केही सेवा सञ्चालन गर्न नसकेको बताएको छ । सो अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमणसँगै बिरामी नहुँदा सबै किसिमका उपचार सञ्चालन गर्न नसकेको बताउँछिन् । ग्राण्डीले कोभिडको समयमा रोकिएको मिर्गाैला प्रत्यारोपण सेवा पुस ४ गते शनिबारदेखि पुनः सञ्चालन गरेको छ । ग्राण्डीले अहिलेसम्म ५७ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । दुई सय श्ययामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोभिड सङ्क्रमण शुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म ओपिडी सेवा प्रदान गर्दै आए पनि हाल दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् । निजी लगानीमा सञ्चालित अस्पतालले कोभिड–१९ को बिरामीको उपचार कम गरे पनि ग्राण्डीले भने ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघनउपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको जनाएको छ । कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको यस अस्पतालले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा मात्रै शल्यक्रिया गरेको छ । कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महङ्गो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको महाप्रबन्धक सिंहको भनाइ छ । सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् । कोभिड–१९ का कारण बिरामीको सङ्ख्या घट्दा स्वास्थ्य सामग्री बिक्रीवितरणसमेत घटेको छ । दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्य सामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिको प्रालिले कोभिड–१९ का कारण अस्पतालमा स्वास्थ्य सामग्री बिक्रीवितरण घटेको बताएको छ । प्रालिका निर्देशक बद्रीनाथ घिमिरे कोभिडबाहेक अरु रोगका बिरामी अस्पताल नजाँदा स्वास्थ्य सामग्रीको बिक्रीवितरण घटेको बताउँछन् । कोभिडपछि बिरामीको चाप कम हुँदा स्वास्थ्य सामानको माग कम आउने गरेको उनको भनाइ छ । रासस

साेमबार ७४२ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५१४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ७ हजार ९७६ पुगेकाे छ । नेपालमा आजसम्म १८ लाख ७७ हजार १८१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०७९ जना निकाे भएसँगैं हालसम्म २ लाख ४४ हजार ७४३ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३६१ पुगेकाे छ ।