रामपुर अस्पताल: कागजमा पचास तर सेवा पन्ध्र शय्याकै
रामपुर (पाल्पा) । पाल्पा जिल्लाकै ठूलो सरकारी अस्पतालका रुपमा रहेको रामपुर अस्पतालको सेवा ५० शय्यामा स्तरोन्नति भएको भनिए पनि नागरिकलाई दिने सेवा भने पन्ध्र शय्यामा नै सीमित छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सेवा दिँदै आएको यो स्वास्थ्य संस्थालाई विसं २०७२ मा ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । तर आज पाँच वर्ष पुगिसक्दा पनि भौतिक पूर्वाधारलगायतका सेवा अभावका कारण देखाउँदै त्यसअनुरुपको सेवा सुविधा दिन भने सकेको छैन । कागजमा यस अस्पतालको स्तरोन्नति भएको भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा सेवाग्राही निराश बनेका छन् । औषधि उपचारका निम्ति विभिन्न शहरमा धाउनुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीय नागरिक अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुविधा पाउने अपेक्षामा थिए । यहाँ ५० शय्यासम्म राखेर सेवा दिनेगरी अस्पताल भवनको शिलान्यास भएपछि यहाँका नागरिकमा ठूलै खुशीयाली छाएको थियो । तर आजसम्म पनि न भवन निर्माण भएको छ र नत नागरिकले यसअघि सोचेअनुसारको सेवा नै पाएका छन् । विकासमा बामे सर्दै गरेको रामपुर नगरपालिकाभित्र ५० शय्याको अस्पतालबाट पूर्वी पाल्पाका नागरिक लाभान्वित हुन सक्नेछन् । रामपुरमा स्वास्थ्य सेवाको पहुँच नभएकै कारण यहाँका धेरै नागरिकले दुःख पाएका छन् । उनीहरुले आफूले भोगचलन गर्दै आएका थातथलोसमेत छाडेर अन्यत्र बसाईसमेत सरेका छन् । शिक्षाजस्तै स्वास्थ्य पनि नागरिकको आधारभूत सुविधा भएकाले यसको अभावका कारण धेरै नागरिक यहाँबाट बसाईसमेत सरेका छन् । पछिल्लो समयमा स्वास्थ्य सेवाको थप सुविधा पाउने आशाले अन्यत्र बसाइँसराइ गरी जाने तयारीमा रहेका नागरिक स्वास्थ्य क्षेत्रको दायरा फराकिलो हुने भएपछि भने गाउँमै बस्न थाले । अस्पतालको स्तरोन्नतिकै कारण यहाँका घर घडेरीको मूल्य पनि बढ्न थालेको थियो । तर अहिले अस्पतालको भवन निर्माण कार्य सम्पन्न नभएपछि भौतिक संरचना अभावका कारण भने नेपाल सरकारले तोकेअनुसारका सेवा लिन नागरिकले पाइरहेका छैनन् । पचास शय्याको अस्पताल भनिए पनि अहिलेको सन्दर्भमा ५० शय्या कागजमा मात्र सीमित बनेको छ । अहिले पनि १५ शय्याकै भवनबाट सेवा प्रवाह भइरहँदा नागरिकले स्वास्थ्य क्षेत्रको सेवा विस्तारको महसुस गर्न पाएका छैनन् । पन्ध्र शय्याको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा गण्डकीबेंसीको उपत्यकाको संगमस्थल मानिने रामपुर नगरपालिकामा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधा सम्पन्न भवन निर्माण थालनी गरिएको थियो । स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी ५० शय्याको अस्पताल निर्माण कार्य अघि बढाइयो । निर्माण कार्यको समय लम्बिँदै गए पनि अस्पताल भवनको संरचना निर्माण कार्य सुस्त गतिमा बढेको छ । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्योपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल २०७२ मा ५० शय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ । नेपाल सरकारको २२ करोड २२ लाख पाँच हजार ३८३ लागतमा टेन्डर आह्वान भएकोमा रवीना कन्स्ट्रक्सन प्राली काठमाडौँसँग करीब रु साँढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२/०७३ को पुसबाट निर्माण कार्य शुरु गरिएको सो अस्पतालको भवनको हालसम्म ८५ प्रतिशत मात्र भौतिक कार्य प्रगति सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ । स्थानीयका अनुसार भने करीब ६५ देखि ७० प्रतिशतको हाराहारीमा भौतिक संरचना निर्माण सम्पन्न भएको पाइएको छ । विसं २०७५/०७/१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पुनःम्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । पछिल्लो समय विश्वभर महामारीकैरुपमा फैलिएको कोभिड– १९ को असरले गर्दा पनि निर्माण कार्यमा बाधा पुगेको निर्माण व्यवसायी बताउँछन् । अबको तीन महिनाभित्रमा अस्पतालको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने योजनाअनुसार भवन निर्माणको काम अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर महम्मद अन्सारु बताउँछन् । अस्पतालको नयाँ बन्दै गरेको भौतिक संरचना तयार नभएकाले १५ शय्याकै संरचनामा बसेर नागरिकलाई सेवा दिनु परेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा विजय परियार बताउँछन् । “अस्पतालमा भौतिक स्रोतसाधन अभावले ५० शय्याको अस्पताल भए पनि हामी १५ शय्याकै अस्पतालमा खुम्चिएर संरचना अभावमा कठिनाइका बाबजुद पनि सेवा दिनुपरेको छ, बिरामीलाई संरचना तयार नभएका कारण यही अस्पतालमा दिन सकिने सेवासुविधा पनि हामीले नचाहदा नचाहँदै अन्यत्र बजारका अस्पतालमा उपचारका लागि रिफर गरेर पठाउनुपर्ने बाध्यता छ”, उनले भने । यहाँ उपचारका लागि आएका विपन्न, गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउन र अस्पतालबाट अन्यत्र लैजानका लागि प्रदेश सरकारबाट रु एक लाख ५० हजार बराबरको बजेट प्राप्त भएको डा परियारले जानकारी दिए । गरीब, विपन्न, असहाय नागरिकको उपचारमा अस्पतालले सहयोग गरेको उनको भनाई छ । यसले गर्दा पनि पछिल्लो समय रामपुर अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो छ । निर्माण कम्पनीकै ढिला सुस्तीका कारण समयमै काम सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नुपरेको अस्पताल सञ्चालन विकास समितिका पूर्वउपाध्यक्ष एवं स्थानीयवासी फणेश्वर गौतम बताउँछन् । “गण्डकीबेंसीकै स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै ५० शय्याको सरकारी अस्पताल नामकरण भए पनि सेवा भने १५ शय्याबाट मात्र प्रवाह भइरहेको छ, नागरिकले यहाँ भवन अभावमा सेवा नपाएर काठमाडौँ, पोखरा, भरतपुर, बुटवल, तानसेनलगायतका अन्यत्र स्थानमा रकम खर्च गरेर उपचारका लागि जानु परेको छ, सम्बन्धित निकायले निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने देखिन्छ”, उनले भने । अस्पतालबाट पाइने सेवासुविधा लिन नागरिक अझै पनि अन्यत्र जानुपर्ने बाध्यता गण्डकीबेंसीका लागि पीडादायी बनेको उनले गुनासो पोखे । पचास शय्याकै सेवा सुविधा दिन सकेको खण्डमा नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ बाहिर गएर उपचार गराउन नपरेपछि आर्थिक भार पनि पर्ने थिएन । यहाँको अस्पतालमा उपचार गर्न नसकिने र अन्यत्र रिफर गरिएका न्यून आय भएका बिरामी आर्थिक समस्याका कारण रोगसँग लडेर घरमै बस्न बाध्य पनि छन् । रामपुर नगरपालिका वडा नं ५ बस्ने कमला परियार पत्थरीको शल्यक्रिया रामपुर अस्पतालमा नहुने भएपछि रिफर कागज बोकेर पटक पटक सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्राभसमा पुगे पनि शल्यक्रिया हुन नसकेको गुनासो गर्छिन् । उनी भन्छिन्, “गाउँमा ऋण खोजेर गाडी रिजर्भ गरेर लुम्बिनी मेडिकल कलेज पटकपटक पुगियो, त्यहाँ पुगेपछि उपचार गर्ने बेला प्रेसर बढेर शल्यक्रिया गर्न नपाइकन धेरै पटक घर फर्कनु परेको छ, न उपचार न त धन नै रह्यो ।” उनले शल्यक्रियाकै लागि अन्यत्र बजारका अस्पतालमा उपचार गर्न आवतजावतमा नै धेरै रकम खर्च गरिसके भने उपचार पनि भएको छैन । घरदैलोमा नै सो उपचार हुने भए आवतजावतमा रकम खर्चनुपर्ने थिएन । आफूले भनेको समय सेवा पाउने र सेवा दिन सजिलो पर्ने हुँदा अन्यत्र जाने झन्झट पनि हट्ने थियो । पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण भएपछि नागरिक औषधि उपचारमा राम्रो सुविधा उपभोग गर्न पाउने आशामा थिए । नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्टलगायतका अत्याधुनिक सेवा सुबिधा नागरिकले उपभोग गर्न पाउने बताइएको छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन यस क्षेत्रकै ठूलो र सुविधा सम्पन्न भवन निर्माण भएपछि रामपुर अस्पतालबाट गण्डकीबेंसी क्षेत्रका पाँच लाखभन्दा बढी नागरिक लाभान्वित हुनेछन् । तर अहिले नै भने सुविधा सम्पन्न अस्पतालको अभावमा नागरिकले सास्ती खेप्दै आएका छन् । यस अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहँुदा विशेषज्ञ चिकित्सकसहितको सेवा लिन पूर्वी पाल्पावासी जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका विभिन्न अस्पतालमा धाउन बाध्य छन् । इमर्जेन्सी सेवाका लागि अस्पतालबाट रिफर गरिएका बिरामीलाई समयमा अस्पतालमा पु¥याउन नसक्दा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि यस क्षेत्रमा देखिएको छ । वर्षायामको सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् । गण्डकीबेंसीकै ठूलो अस्पताल भएकाले यस अस्पतालमा उपचारका लागि हाल यहाँ दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल स्थानीय, अस्थायी र करारमा गरी ६५ जना कर्मचारी कार्यरत छन् । यीमध्ये चिकित्सक तीन जना, स्टाफ नर्स एक जना, प्रशासन शाखामा तीन जना, एक्स–रे शाखामा एक जना कर्मचारी रहेका अस्पतालका प्रशासन सहायक हीरा विक बताउँछन् । उनका अनुसार नागरिकलाई सहज सेवा दिन अस्पतालले अहिले दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । अस्पतालको भवन निर्माणमै ढिलाइ हुँदा सेवाको क्षेत्र बिस्तार गर्न नसकिएको र यसले गर्दा हाल अस्पतालमा सेवा विस्तारका लागि पनि गुनासो आउने गरेको उनको भनाइ छ । रासस
प्रदेश नं १ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू
ओखलढुङ्गा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो । प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्ने योजना रहेको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा यसअघि नै लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा यो कार्यक्रम लागू भइसकेको छ । विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । विद्यालयमा स्वास्थ्यकर्मी र आधारभूत स्वास्थ्योपचारसहितको सेवा प्रभावकारी बनाइने खिजीदेम्बा– ४ का वडाध्यक्ष कमल न्यौपानेले बताए । “विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीका स्वास्थ्य समस्या समाधान र परामर्शका लागि सहज हुनेछ”, उनले भने, “प्रदेश सरकारको यो कार्यक्रममा हाम्रो वडाको माविलाई समावेश गर्न राज्यमन्त्रीमार्फत प्रक्रिया अघि बढाइएको थियो । कार्यक्रम आयो अब यसलाई उच्चतम् सदुपयोग गरेर प्रभावकारी बनाउन हामी लाग्छौँ ।” जिल्लाका अन्य विद्यालयले पनि यो कार्यक्रम शुरु गर्न माग गरिरहेका छन् ।
हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्ला बाहिर पठाउने तयारी
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा सङ्क्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताए । जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिए ।