आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण अद्यावधिक गर्न बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण बीमित सदस्यलाई आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । 

बोर्डले शुक्रबार सूचना जारी गर्दै बीमित तथा निजका परिवारका सदस्यहरूको विवरण अद्यावधिक गर्ने उद्देश्यले स्वास्थ्य बीमा विद्युतीय पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रममा यसअघि आबद्ध भएका सबै सदस्यले आफ्नो विवरण रुजु तथा अद्यावधिक गर्न अनिवार्य रूपमा ग्राहक परिचय विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार केवाईसी अद्यावधिक गर्दा नाममा भएको सामान्य त्रुटि, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता विवरण, परिवार विवरणलगायत आवश्यक जानकारी सच्याउन सकिनेछ ।

बोर्डले विवरण अद्यावधिकका लागि विद्युतीय पोर्टलमा प्रवेश गरी ‘म सुरक्षित बीमित’ विकल्प छनोट गर्ने, परिवारका कुनै एक सदस्यको स्वास्थ्य बीमा नम्बर प्रविष्ट गर्ने, प्रयोगकर्ता खाता सिर्जना प्रक्रिया पूरा गर्ने तथा ग्राहक परिचय विवरण अद्यावधिक खण्डमा गई राष्ट्रिय परिचयपत्र नम्बर वा हस्तचालित रूपमा विवरण अद्यावधिक गरी पेश गर्न सकिने जनाएको छ ।

यसरी अद्यावधिक गरिएको विवरण सम्बन्धित स्थानीय तह वा जिल्ला दर्ता अधिकारीबाट प्रमाणीकरण भएपछि मात्र अन्तिम रूपमा स्वीकृत हुने बोर्डले स्पष्ट पारेको छ । थप जानकारीका लागि विद्युतीय पोर्टलमा उपलब्ध भिडियो मार्गदर्शन हेर्न वा स्वास्थ्य बीमा बोर्डका जिल्ला सम्पर्क कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।

Share News