ग्रान्डी अस्पतालमा पनि अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडाैं । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए । ‘कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ’, उनले भने । अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ । ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

कर्णाली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ । कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘रुघा, खोकी, ज्वरो भएका सर्वसाधारणको कोभिड–१९ को एन्टिजेन वा पिसिआर परीक्षण गरेर मात्र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि लिन अनुरोध छ, यदि कोभिड–१९ को उपचार मापदण्ड विपरीत स्वास्थ्य सेवा प्रवाह गरेको पाइएमा जनस्वास्थ्य ऐन तथा नियमावलीबमोजिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गरिनेछ ।’ स्वास्थ्य सेवा कार्यालयले कोभिड–१९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पु¥याउन लागिएको हो । हाल अस्पतालमा १४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ । यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये १०८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिए । एक सय आठ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीन जना नयाँ लिइएको अस्पतालले जनाएको छ । जिल्लाका अस्पतालमा बिरामीले शय्या पाउन सकेका छैनन् । सघन उपचारकक्ष भरिएका छन् । सघन उपचारकक्षको प्रतीक्षामा बिरामी आकस्मिक कक्षमा रहेका देखिन्छन् । जिल्लाका अस्पतालमा अहिले ४३० बिरामी उपचाररत रहेका छन् । तीमध्ये २४० सघन उपचारकक्षमा, एचएफएनसीमा ४९, एचडीयुमा ६३ र आइसोलेसनमा १२७ जना रहेका छन् । जिल्लामा हालसम्म १० हजार १९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सक्रिय सङ्क्रमित दुई हजार ९०९ रहेका छन् । सक्रिय सङक्रमित २०० अस्पतालको आइससोलेशनमा र दुई हजार ७०९ होमआइसोलेशनमा छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार १४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १४५ को मृत्यु भएको छ । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये चार हजार ३६७ महिला र पाँच हजार ८२७ पुरुष रहेका छन् ।