नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन सञ्चालनमा, उपचारको लागी अभाव नहुने

फाइल फाेटाे त्रिशूली । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनःसञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिन (सुरक्षित बासस्थान) लाई स्तरोन्नति गरेर हाल आइसोलेसन शय्यामा रुपान्तरण गरेका छन् । ‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत खनालले भने, ‘कोरोना सङ्क्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारको लागी शय्याको अभाव देखिन्न ।’ विदुर नगरपालिकाले बट्टार स्थित कर्भडहलमा २२ र नुवाकोट सिटी कम्युनिटी अस्पतालमा १५ गरेर ३७ शय्याको आइसोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । आइसालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स-अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ । विदुर नपाभित्र हाल ३३२ कोरोनाका सक्रिय सक्रमित छन् । उनीहरुमध्ये स्वास्थ्य समस्या भएका केहीको त्रिशूली अस्पतालमा उपचार भईरहेकाले सुविधायुक्त आइसोलेसन केन्द्र भने खाली छ । बेलकोटगढी नगरपालिकामा कोभिड अस्पतालसहित २५ शय्याको आवश्यक सुविधासहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख राजेन्दरमण खनालले जानकारी दिए । लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा ५, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा ९, दुप्चेश्वरमा ८, पञ्चकन्यामा ५ र ककनी गाउँपालिका ५ शय्याको आइसोलेसन कक्ष तयार छ । आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स-अक्सोमिटर, पिपिइ, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाको लागी स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल दुई सय शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पुरयाउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । ती मध्ये अधिकांश घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । समस्या देखिएका ४४ लाई त्रिशूली अस्पताल भर्ना गरिएको छ भने बाँकी ४ जना स्थानीयहले बनाएको आइसोलेसनमा राखिएको छ । नुवाकोटमा हालसम्म एक हजार ८८० जनामा कोराना देखिएकोमा त्यसमध्ये एक हजार २४९ जना निको भएका छन् । जिल्ला भित्र चार जनाको मृत्यु भएको छ । रासस

निगमका महाप्रबन्धक भन्छन्ः आगामी १०/१२ दिनमै अक्सिजनको समस्या समाधान हुन्छ

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा एक सूचना राख्दै साे कुरा बताएका हुन् ।  यस्तै उनले निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताएका छन् । उनले सरकारले भनेको अवस्थामा स्वास्थ्य सामग्री ल्याउनेदेखि उद्धार उडान गर्न सबै जहाज तयारी अवस्थामा राखिएको बताएका हुन् । पछिल्लो समय नेपालका अधिकांश स्थानमा अक्सिजन अभावका कारण धेरै कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश विरामी अक्सिजन अभावका कारण मृत्यु भएको र देशकै ठूला अस्पतालहरुले अक्सिजन अभावका कारण उपचार गर्न नसक्ने भन्दै हात उठाउँदै आएका छन् । नेपालमा अक्सिजन र सिलिण्डर अभाव भयो भनिरहँदा चीन लगायत धेरै देशबाट सहयोग दिने बताईसकेका छन् । जसमा चीन, बंगलादेशबाट अक्सिजन सिलिण्डर नेपाल ल्याईसकिएको छ । नेपाल वायुसेवा निगमले सरकारलाई आवश्यक परेमा जहाज उपलब्ध गराउन तयारी भएको उनकाे भनाई छ ।

काठमाडौंमा थपिए ३ हजार ९२४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको छ भने १६८ जनाको मृत्यु भएको छ । जसमा २० हजार ३६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार २३८ जना ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।