त्रिशूली अस्पतालमा स्वाब सङ्कलन एक साता बन्द
फाइल फोटो त्रिशुली । त्रिशूली अस्पतालमा आरटी-पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन एक साता बन्द हुने भएको छ । अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित नमूना सङ्ख्या एक साताको लागी पुग्ने भएकाले सङ्कलन रोकिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ सूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पीसीआर परीक्षणको लागी प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ । कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागी प्राप्त भएको छ । उनका अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ । अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ । हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसँगै परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पिसिआर परीक्षण निः शुल्क रहेको छ । रासस
काठमाडौं उपत्यकामा थपिए ३५६२ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सबैभन्दा धेरै काठमाडौं जिल्लाका थप २ हजार ७३३ जना संक्रमित थपिएका हुन् । यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका छन् । बुधबार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जना गरी काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृत्ुयु भएको छ ।
१५ दिनभित्र अक्सिजन प्लान्ट जडान असम्भव भएकाे निजी अस्पतालहरूकाे निष्कर्ष, सरकारकाे निर्देशन हावादारी
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को असहमति जनाएकाे छ । हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प छैन । अफिनका अध्यक्ष बसन्त चाैधरी भन्छन्-अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ । १०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम नभएकाे पनि चाैधरीले बताए । यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय भएकाे अफिनकाे ठहर छ । कोभिड–१९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएको बारेमा अफिन जानकार रहेकाे र यो असहज अवस्थाप्रति गम्भीर रहेकाे बताउँदै उक्त संस्थाका अध्यक्ष बसन्त चाैधरीले भनेका छन् -“सीमित साधन-स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ ।” देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि अफिनले जनाएकाे छ । कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार रहेको अध्यक्ष चाैधरीले बताएका छन् ।