पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

फाइल फोटो कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताइन् । अटो मेकानिकल वर्कसपहरुमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरुमा उपलब्ध गराउने गरी अक्सिजन बैँक स्थापना गरिएको बताइएको छ । कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरुको अभियानमा साथ दिन आग्रह गरेका छन् । उनले भने, ‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौँ । कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैँ ।’ रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैँक स्थापनाको अभियान सुरु गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालहरुमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरु सिलिण्डर खोजीमा जुटेका छन् । रासस

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पठायाे पत्र

भक्तपुर । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए । ‘कारवाहीको प्रक्रिया सुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ’, उनले भने । उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने जानकारी दिँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पारे । उनले भने, ‘यो अनुसन्धानको पाटो हो । धेरै कुरा अहिले नै खुलाउन नमिल्ला ।’ उनले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने बताए । पन्ध्र शय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो । स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना सङ्क्रमितलाई भर्ना लिइएको थियो । दिउँसोदेखि नै अक्सिजनको अभाव झेलेको अस्पतालले समयमा अक्सिजनको व्यवस्था गर्न नसकेपछि राति आइसीयु र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीलाई समेत निकालेर अन्यत्र लैजान बिरामीका आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा अक्सिजन नहुँदा भेन्टिलेटरमा उपचाररत कोरोना सङ्क्रमित भक्तपुर कमलविनायकका ४५ वर्षीय पुरुषको सोही अस्पतालमा मृत्यु भएको थियो भने अस्पतालले अन्यत्र लैजानु भन्दै आइसीयुबाट बाहिर निकालेका पोखरा स्थायी घर भएका ६० वर्षीय पुरुषको अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालले बिरामीलाई रिफरको कागजपत्र नदिई जबरजस्ती अन्यत्र लैजान भन्दै बिरामीलाई आइसीयुबाहिर निकालेको मृतकका आफन्तको आरोप छ । रासस

उपत्यकामा थपिए ४ हजार बढी कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण विधिबाट कुल १९ हजार २९३ नमूना परीक्षण गरिएको थियो। आईतबारसम्म देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।