कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको टेलिफाेन परामर्श सुरु
चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने उनले बताए । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ । बिहान७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ । अस्पतालमा आएका बिरामीले समेत आकस्मिककक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्नेछन् । सङ्क्रमितलाई शय्या बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले बताए । अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गरे । जिल्लामा अहिले तीन हजार ७४१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये २१४ अस्पतालको आइसोलेशनमा, तीन हजार ५२४ होमआइसोलेशनमा र तीन जना सार्वजनिक आइसोलेशनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १६३ को मृत्यु भइसकेको छ । रासस
हाम्रो स्वास्थ्य प्रणाली कोल्याप्स भएको होइन, महामारीलाई धान्ने प्रणाली अपुग भएको होः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिएका छन् । विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तामा काम गर्न निर्देशन दिएका हुन् । कोभिड १९ को दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नु पर्ने कामबारे निर्देशन दिएका थिए । तत्कालको काम अक्सिजन आपूर्ति प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिए । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको वताए । ‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको विरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन, यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो,’ प्रधानमन्त्री ओलीले भने । सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाई थियो । ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नु प¥यो, मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ,’ उनले भने । विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्, तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरु सबैको सक्रियता आवश्यक छ,’ उनले थपे । अफवाह फैलाएर ह्यारेसमेन्ट नगरौं प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टााचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरुको मनोवल गिर्नेतर्फ सचेत रहन पनि आग्रह गरे । ‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ, मानवीय रक्षाको लागि गरेका प्रयासहरुलाई विकृत रुपमा ब्याख्या गर्ने पेशा नै भएकाहरुसँग सजग रहेर महामारीबाट जनतालाई वचाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने । ओलीले विज्ञहरुलाई आफूले प्रयोग गर्ने टर्मिनोलोजीमा परिवर्तन गर्न सुझाव पनि दिए । ‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको होइन, हामीसँग यसअघि नभएका प्रणालीहरुलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली कोल्याप्स भएको होइन,’ उनले भने । महामारीलाई राजनीति लाभको विषय नबनाऔं विश्वव्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको वताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नु पर्ने वताए । राजनीतिक विपक्षीहरुले सरकारले कामै गरेर भनेर महामारीबाट लाभ लिने प्रयास गरेको उनको दाबी थियो । ‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ, सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो,’ उनले भने । छलफलमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे रिपोर्ट प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकहरुले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव दिएका थिए ।
बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए । ‘विभिन्न सङ्घसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर सङ्कलन गरेर एकद्वार प्रणालीबाट कोरोना सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो’, उनले भने, ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर सङ्कलन भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । आठवटा पसल, ग्यारेज तथा उद्योगमा रहेका १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको प्रनाउ राईले बताए । कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने गरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर सङ्कलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ । व्यक्तिका घर तथा पसलमा प्रयोगविहीन अवस्थामा रहेका सिलिण्डरसमेत उपलब्ध गराउन अपिल गरिएको छ । कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ । म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर सङ्कलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । म्याग्दीमा करिब ३०० थान अक्सिजन सिलिण्डर भएको अनुमान छ । बेनी अस्पतालसँग ५४ थान सिलिण्डर थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार २५ वटा सिलिण्डर रिफिल गर्न (भर्न) पठाइएको छ । अस्पतालको ३० वटा शय्यामा अक्सिजन उत्पादन केन्द्रबाट पाइपमार्फत सिधै अक्सिजन पठाउने व्यवस्था मिलाइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको अस्पतालका प्रमुख जितेन्द्र कँडेलले बताए । अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो । सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख र अस्पतालको एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको छ । रासस