काेराेनाकाे रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति
काठमाडाैं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।
सनराईज फाउन्डेशनले टेकु अस्पताललाई हस्तान्तरण गर्यो दुईवटा अक्सिजन कन्सनट्रेटर
काठमाडौं । अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बताइन् । उनले ८०/९० हजार मूल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्रेटर अस्पताललाई दिइएको जानकारी दिइन् ।
नेपालमा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि, साढे ६ हजार बढी निकाे भए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५३९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ हजार ३१६ र ३४४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज ६६४८ जना निकाे भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ जनामा संक्रमण पुष्टि भएको हो । गत बिहीबारदेखि आईतबारसम्म ७६ हजार ९३२ जनाको कोरोना परीक्षण गर्दा २५ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ भने २३ हजार २९३ जना संक्रमण मुक्त भएका छन् । यस्तैगरी नेपालमा १ लाख १० हजार २६३ जना संक्रिय संक्रमित रहेका छन् । जस मध्येमा ७ हजार ८०८ जना संस्थागत आईसोलेसन, १ लाख २ हजार ४५५ जना होम आईसोलेसन, ७०१ जना क्यारेन्टीनमा रहेका छन् ।