थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ। देशभर हाल १ लाख १७ २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्येमा सबैभन्दा धेरै काठमाडौंमा १८६३ जना, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर, अस्पतालमा चाप पनि कम
राँझा । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीे निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए। ‘दैनिक सात/आठ सय लक्षणसहितका सङ्क्रमित फेला पर्ने गरेको बाँकेमा यो एक महिनाको अवधिमा सङ्क्रमित दर ह्वात्तै घटेको छ । लकडाउन र सचेतनाका कारण सङ्क्रमण घट्दै गएको हुनुपर्छ’, डा थापाले भने,’पछिल्लो केही दिनयता बाँकेमा कोरोना सङ्क्रमण र मृत्यु दर घटेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो । तर पनि सजक भई अरुलाई पनि सजकता अपनाउन छोड्नु हुँदैन ।’ उनले कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न नहुने बताउँछन् । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना सङ्क्रमणको चक्र तोड्न सफल भएकोले घट्दो सङ्क्रमणदरलाई शून्यमा झार्न अव पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ । अस्पतालमा घट्यो विरामीको चाप बाँकेमा कोरोना सङ्क्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका विरामीको चाप घट्दै गएकोे छ । अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने विरामीको सङ्ख्या बढि हुने गरेको डा. थापाले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय सङ्क्रमितलाई उपचार गर्दै आएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन् । ‘अहिले बाँकेका भन्दा पहाडी जिल्लाबाट आउने विरामीको सङ्ख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएकोे छ’, डा.थापाले भने,’अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुईंमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जितेर निको हुँदा एक सय १४ जना सङ्क्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा तीन सय ६८ जनाको परीक्षण गर्दा दुई सय ६५, शिक्षण अस्पताल कोहलपुरमा एक सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । रासस
दूरदराजका गाउँ बन्न थाले काेराेना ‘हटस्पट’
पाँचथर । जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरुमा सङ्क्रमण तीब्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ । दूरदराजका गाउँ वस्तीहरुमा घरैपिच्छे सङ्क्रमित भेटिनाले यी स्थानहरु ‘हटस्पट’ बनेका छन् । हालसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका—५ सुभाङ बनेको छ । यस वडामा हालसम्म ७५ पुरुष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा छ ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ । यहाँ हालसम्म ४४ जना सङ्क्रमित छन् । यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत सङ्क्रमण निकै तीब्र गतिमा फैलिएको छ । हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, ‘घरैपिच्छे विरामी छन् । कतिपयले परीक्षण गर्न मानिरहेका छैनन् । स्थिति भयावह जस्तै छ ।’ सङ्क्रमितहरुमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे बताउँछन् । हिलिहाङ—१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना सङ्क्रमित देखिएका छन् । हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा सङ्क्रमण देखिएको छ । सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो सङ्क्रमित भेटिन थालेका छन् । फिदिममा आइतवार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको थियो । अब्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपलहले सदरमुकाममा सङ्क्रमित दिनहुँ बढिरहेका छन् । सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन् । नगरपालिकाभित्र पर्ने गाउँ वस्तीहरुसम्म सङ्क्रमण फैलिइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । सोमवारमात्रै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका नाङलपा, बरबोटे, रानीटार, घुमाउनेटार लगायत टोलमा धेरै विरामी देखिएका छन् । कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी देखिएपछि स्थानीयवासीले परीक्षणको माग गरेका थिए । दक्षिणी मिक्लाजुङका गाउँ वस्तीहरुको अवस्था पनि उस्तै छ । मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नीप्रसाद चम्लागाइँका अनुसार हालसम्म उक्त गाउँपालिकाभित्र मात्रै ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ‘मिक्लाजुङ–८ दुर्दिम्बामा धेरै बिरामी देखिएका छन् । उनीहरुमध्ये सबैको परीक्षण समेत गर्न सकिएको छैन्’, चम्लागाइँले भने, ‘कतिपयले परीक्षण गर्न मान्नुभएको छैन् ।’ कन्ट्र्याक ट्रेसिङमा परेका सबैको परीक्षण गर्न नसक्दा गाउँ वस्तीहरुमा सङ्क्रमणको जालो चुडाउन नसकिएको चम्लागाँईको भनाई छ । दक्षिणकै तुम्बेवा गाउँपालिकामा समेत सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ‘३२ जनामा परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ । केही निको पनि भएका छन्’, गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, ‘परीक्षणको दायरा बढाउने प्रयास थालेका छौँ ।’ पिसिआर परीक्षणका यहाँ सङ्कलित स्वाब धनकुटा वा विराटनगर पठाउनुपर्छ । दुवै स्थानमा धेरै समय पालो पर्खनुपर्दा सङ्क्रमितको पहिचान ढिलो भई सङ्क्रमण रोकथाम गर्न कठिन भएको अध्यक्ष थापाको भनाइ छ । पछिल्लोपटक जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा सङ्क्रमण निकै तीब्र गतिमा फैलन थालेको छ । शनिबार कुम्मायक–१ सिम्ले गाउँमा बिरामी भेटिएपछि १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा छ जनामा तथा कुम्मायक–२ माङ्जाबुङमा १५ जनामा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको थियो । आइतबार गाउँपालिकाको केन्द्र यासोकमा २१ जनामा एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । ‘गाउँ वस्तीहरुमा सङ्क्रमित देखिन थालेपछि हामीले गर्नुपर्ने उपचारात्मक तथा सङ्क्रमण रोकथामका कार्यहरु र तयारीलाई तीब्र पारेका छौँ’, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले भने । यसैगरी फाल्गुनन्दमा भने गाउँपालिकाको अस्थायी केन्द्र घुर्विसेपञ्चमीसहित चिम्फुला, राँके, नवमीडाँडालगायत क्षेत्रमा गरी हालसम्म २१ मा सङ्क्रमण देखिएको छ । करीब १५० जनाको एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् । ग्रामीण क्षेत्रमा समेत सङ्क्रमण फैलँदै गएकाले परीक्षणको दायरा बढाउँदै लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ । जिल्लाको याङवरक गाउँपालिकामा भने सङ्क्रमणको जालो एक हदसम्म तोडिएको छ । याङवरक–१ च्याङ्थापू तथा याङ्वरक–४ थर्पूमा अत्यधिक सङ्क्रमित भेटिएका थिए । तर पछिल्लोपटक सङ्क्रमण घट्दै गएको छ भने गाउँपालिकाले परीक्षणलाई निरन्तरता दिएको छ । याङवरक–१ च्याङ्थापूमा ७८ वर्ष माथिका तीन जना वृद्धवृद्धाले कोरोना जितेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ छ । ग्रामीण क्षेत्रमा सङ्क्रमण तीब्र हुँदै जाँदा सतर्कता केही बढेको छ । यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड–१९ को महामारीलाई सामान्य रुघाखोकी र ज्वरोको रुपमा मात्रै लिई हेलचेक्र्याई गर्नेको सङ्ख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । रासस