शव व्यवस्थापनका लागि चर्को शुल्क
फाइल फाेटाे काठमाडौं । कोरोना महामारीले सबै क्षेत्र प्रभावित भएको छ । कयौँको रोजीरोटी खोसिएको छ । दैनिक ज्याला मजदूरी गर्नेलाई बिहान–बेलुका हातमुख जोर्न धौधौ छ । सङ्क्रमितले अस्पतालमा भीड भएर उपचारका लागि शय्या (बेड) नपाएको अवस्था छ भने उपचारका नाममा आइसीयू र भेन्टिलेटरको सुविधा भएको अस्पताललाई दैनिक २५ हजारदेखि ५० हजार रूपैयाँ बढीसम्मको चर्को शुल्क तिर्न मानिस बाध्य छन् । दैनिक कोरोना सङ्क्रमणले मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । बुधबार मात्रै धनुषामा कोरोना सङ्क्रमणका कारण जनकपुरधामको विभिन्न अस्पतालमा उपचाररत रहेका चार जनाको मृत्यु भयो । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति धनुषाले जनायो । यस्तो भयावह अवस्थामा मानिस मुकाबिला गर्दै जीवनयापन गर्नुपरेको छ । कोरोना कहरको एकातिर मानिस जेनतेन सामना गरिरहेको छ भने कोरोनाबाट मृत्यु भएपछि शव जलाउनका लागि पनि सास्ती भोग्नुपरेको पीडितहरूको गुनासो छ । जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट) मा एउटा शव जलाउनका लागि रु १५ देखि १७ हजारसम्म बुझाउनुपरेको गुनासो पीडितको छ । मङ्गलबार जनकपुर–१६ का एक व्यक्तिले स्वर्गद्वारीमा बुवाको शव व्यवस्थापन गर्न जाँदा १५ हजार रुपैयाँ तिर्नुपरेको बताए । उनले भने, ‘अस्पतालमा बुवाको उपचारका लागि लाखौँ खर्च ग¥यौँ । तर बुुवालाई बचाउन सकिएन, कोरोनाले बुवालाई लिएर गयो । अन्तिममा दाहसंस्कार गर्दासमेत चर्को शुल्क तिर्नुप¥यो ।’ उनले पीडामाथि पीडा थपिएको बताउँदै भने, ‘कोरोना महामारीका कारण लगभग एक महिनादेखि सबै कामधन्दा बन्द भएर आम जनताको कमाई बन्द छ, घरपरिवारको दैनिक गुजारा गर्न पनि धौधौ छ, लाखौँ ऋण गरेर बुवाको उपचार गरायौँ ।’ यस्तो महामारीका बेला राज्यको तर्फबाट कम्तीमा शव व्यवस्थापन हुनुपर्ने भन्दै कोरोनाकालमा शव व्यवस्थापन निःशुल्क वा आफूखुशी दिने व्यवस्था हुनेपर्ने उनको भनाई थियो । जनकपुरधामस्थित स्वर्गद्वारीले शव व्यस्थापनका लागि दाउरालगायत सामग्रीको नाममा प्रतिशव १४ देखि १७ हजार रुपैयाँ लिने गरेको पाइएको छ । स्वर्गद्वारीको ठेक्का लिएका जनकपुरका जबाहर शर्माले उक्त दरको रकम लिएको स्वीकार गरेका छन् । शर्माले समान्य दिनमा बढीमा १० हजारसम्म शुल्क लिने गरे पनि हाल अलि महङ्गो लिएको बताए । ठेकेदार शर्माले भने, ‘कोरोनाकालमा सबै सामग्री महङ्गो छ, दाउरा पाइरहेको छैन, गाउँगाउँ डुलेर दाउरा जोहो गर्नुपर्छ, खर पनि सबै ठाउँमा पाइँदैन, फेरि कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापन गर्ने काम पनि त्यत्तिकै जोखिमपूर्ण छ । त्यसकारण अहिले सामान्य दिनभन्दा अलि बढी रकम लिनुपर्ने बाध्यता छ ।’ ठेकेदार शर्माका अनुसार मासिक साढे सात हजारमा स्वर्गद्वारीको ठेक्का लिएको बताउँदै उनले भने, ‘सामान्य दिनमा हप्तौँसम्म एउटा पनि शव आउँदैन, अहिले दैनिक औसतमा छ वटासम्म आउने गरेको छ, जसको व्यवस्थापनका लागि पनि कर्मचारी थपेर बढी राख्नुपरेको छ’, उनले आफूले त कुनै बढी खर्च नलिएको बरु सामाजिक कार्य गरिरहेको दाबी गरे । उनका अनुसार यदि मृतकका परिवारजनले दाउरालगायत सामग्री आफैँ व्यवस्थापन गरे कुनै शुल्क लाग्ने छैन । कोरोना कहरमा आर्थिक समस्यामा रहेका जनतासँग चर्को शुल्क लिई व्यवस्थापनको नाममा चर्को मूल्य लिनु दुःखद् रहेको सर्वसाधारणको भनाइ छ । मानवअधिकारकर्मी तथा इन्सेकका प्रदेश नं २ संयोजक राजु पासवानले यस्तो विपत्का बेला शव व्यवस्थापन जिम्मा राज्यले लिनुपर्ने बताए । अधिकारकर्मी पासवानले भने, ‘यस्तो आपत्विपत्का बेला राज्यले आफ्नो उपस्थिति आम जनताले महसुस गर्नका लागि पनि यसको जिम्मेवारी लिनुपर्दछ ।’ उनले कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा लाग्ने खर्च प्रदेश सरकारले उपलब्ध गराउन माग गरे । जनकपुरका समाजसेवी पवन सिङ्घानियाले चन्दा सङ्कलन गरेर उक्त स्र्वगद्वारी निर्माण गरेका हुन् । यस सन्दर्भमा सिङ्घानियासँग जिज्ञासा राख्दा उनले शव जलाउन होइन, शव जलाउनका लागि दाउरा, गुइँठा, खर, घ्यूलगायतका सामग्रीवापत शुल्क तिर्नुपर्ने प्रावधान रहेको र सोहीअनुसार बाहेक अन्य कुनै पनि शुल्क नलाग्ने बताए । उनले भने, ‘स्वर्गद्वारीमा शव जलाएवापतको शुल्क लिएको छैन । त्यहाँ जगेडा गरी राखिएका दाउरासहित मृत्यु संस्कारमा प्रयोग गरिने अन्य सामग्री खरिद गर्नुपरेको हुँदा मात्र रकम तिर्नुपर्छ । यदि मृतकका परिवारजनले सो व्यवस्था आफैँले गरे कुनै किसिमको शुल्क तिर्नुपर्दैन ।’ रासस
बिध प्रयोगशालाले २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई दिने
फाइल फोटो काठमाडौं । कोरोना सङक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगरपालिका र बिध प्रयोगशाला बीच समझदारी भएको छ । समझदारीअनुसार युएनपार्कमा रहेको प्रयोगशालाले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ । प्रयोगशालाले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौं उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने छ । सङक्रमण बढेर भविष्यमा अन्य अक्सिजनसहितको सिलिण्डर आवश्यक परेमा प्रयोगशालाले महानगरलाई सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको छ । कोभिड-१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी प्रयोगशालाले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ । समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र प्रयोगशालाको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले हस्ताक्षर गरेका छन् । महानगर क्षेत्रभित्र होम आइसोलेनशमा रहेको सङ्क्रमितलाई प्रयोगशालाले स्वास्थ्य सेवा पुर्याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको अध्यक्ष भण्डारीले जानकारी दिए । दोस्रो भेरियन्टको सङक्रमितको सङ्ख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो । उक्त प्रयोगशालाले छिट्टै काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताए । रासस
कोरोना विरुद्दको खोप खरिद गर्ने तयारीमा तिलोत्तमा नगरपालिका
काठमाडौं । तिलोत्तमा नगरपालिका कोरोना भाइरस विरुद्धको खोप खरिद गर्ने तयारीमा छ । नगरपालिकाले नगरवासीलाई नगरको आन्तरिक श्रोतबाटै खोप खरिद गर्ने तयारीमा लागेको हो ।तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस नगरपालिमा दिन प्रतिदिन संक्रमित बढ्दै जदाँ आन्तरिक श्रोत बाटै छिटै खोप खरिद ल्याउने भनिएको तर चाहेर पनि आफै खोप खरिद गर्ने नसक्ने अवस्था सिर्जना भएका नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । सम्बन्धित खोप उत्पादकसँग सिधै समन्वय नगरपालिकाले गर्न नसक्ने उनले जनाए । संघले खोप खरिदको अनुमति दिए नगरको आन्तरिक श्रोत व्यवस्थाबाट खोप खरिद गर्ने उनको भनाई छ । सङ्घीय सरकारले पालिकालाई खोप किनेर दिँदा ४ देखि ५ महिना लाग्ने र त्यो समयसम्म धेरै नगरबासीको ज्यान जाने भएकाले अरू शीर्षकबाट पनि बजेट छुट्याई नगरबासीलाई खोप खरिद गरी खोप लगाउने निर्णय गरेको घिमिरेले बताए । सङ्घीय सरकारले खोप खरिदको लागि अनुमति दियो भने विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्था र निजी क्षेत्रसँग समन्वय गरी उनीहरू मार्फत खोप खरिद गरी नगरबासीलाई निःशुल्क खोप लगाउन योजना रहेको उनले बताए । खोप खरिदको लागि लाग्ने बजेट कुन खोपको लागि कति रकम लाग्छ भन्ने कुराको नगरले आकलन गरेका छैन । नगरपालिकामा १८ वर्ष देखी ८० वर्षसम्मका खोप लगाउन योग्य रहेका नागरिकहरू ७३ हजार रहेका छन् । ७३ हजार नागरिकलाई पहिलो डोजको खोप लगाउनको लागि ७ करोड रुपैयाँ खर्च हुने र दोस्रो डोज पनि लगाउनको लागि १४ करोड रुपैयाँ खर्च हुने घिमिरेले बताए । संघीय सरकारले अनुमति दिए नगरमा पहिला चरणको खोप किन्ने तयारी छ । नेपाल सरकारले खोप दिई ६ हजार नागरिकले पहिलो चरणको खोप लगाइ सकेका छन् । पहिलो पनि खोप नलाएको संख्या नगरमा ७३ हजार रहेको घिमिरेले जनाए । खोप किन्ने अनुमति दिए पछि नगरको आन्तरीक स्रोतको व्यवस्था नगर सभाले गर्ने उनले बताए । अन्तर्राष्ट्रिय रेडक्रस संस्था सँग पनि नगरपालिकाले निःशुल्क खोपको लागि आव्हान गरेको छ । नगरले खोप खरिको लागि प्रदेश र केन्द्रमा पत्रचार गरेको तर पत्रको जवाफ नदिएको पनि घिमिरेले जनाए । काेराेना जोखिम न्यूनिकरणमा नगरकाे प्रयास नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेको घिमिरे बताउँछन् । पालिकाले २ अस्थायी कोभिड अस्पताल रहेका छन् । घिमिरे अनुसार यी कोभिड अस्पताल एक सय जनासम्म कोभिडका संक्रमित राख्न सकिने छ । हाल पालिकाको यी अस्थायी कोभिड अस्पतालमा २५ जना संक्रय संक्रमित रहेका छन् । कोरोना संक्रमितहरूको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइएको उनले बताए । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि जोड दिइरहेका उनको भानाइ छ । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गर्दै आए पनि उनले बताए । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुराउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका पनि उनले बताउँछन् । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट उपलब्ध गराउँदै आएका घिमिरेले बताए । नगरले कोभिड अस्तालमा बसेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदै आएको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि नगर प्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने दिएका छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका पनि घिमिरेले बताए । पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफूले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले बताए । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उनको भनाई छ ।