डेङ्गुबाट चितवनमा २ हजार सङ्क्रमित
चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन् । डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ । रासस
पैसाको अभावले बिहानदेखि सेवा दिन कान्तिमा असम्भव, अस्पतालको माग सुन्दैन सरकार
काठमाडौं । साउन १ गतेदेखि वीर अस्पतालले बिमारीहरुलाई बिहान ८ बजेदेखि सेवा दिन शुरु गरेको छ । सोहीअनुसार बिमारीहरुले बीर अस्पतालमा बिहान ८ बजेदेखि साँझ पाँचबजेसम्म सेवा पाउन शुरु गरेका छन् । तर, वीर अस्पतालले प्रदान गरेजस्तै बिहान आठबजेदेखि पाँच बजेसम्म आफूहरुले भने सेवा दिन नसक्ने कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले बताएका छन् । विहान आठबजेदेखि सेवा प्रवाह गर्दा सिर्जना हुने व्ययभार उठाउन सक्ने क्षमता नभएको उनको भनाइ छ । वीरको जस्तै सुविधा हाम्रोमा दिन सकिँदैन, किन सकिँदैन भने त्यहाँ ५० प्रतिशत भत्ता दिन्छ, हाम्रोमा भत्ता एक रुपैयाँ पनि छैन, उही सुख्खा तलब खाने कर्मचारी हो, आफ्नो कार्यालय समयमा आएर जाने हो’, निर्देशकले भने, ‘समिति पनि सक्षम छैन, म आउँदा जम्मा एक करोड रुपैयाँ मात्रै बचतको अवस्थामा थियो, कोभिड महामारीको बेलामा मुद्दति बचत खातामा राखेको तीन करोड रुपैयाँ निकालेर तलब खुवाएको हो ।’ पछिल्लो डेढ वर्षमा भने अस्पतालको आर्थिक अवस्थामा केही सुधार भएको उनले बताए । तर, चिकित्सक तथा कर्मचारीलाई ओभरटाइम परिचालन गरेर भत्ता दिने अवस्था भने नभएको उनले बताए । समितिबाट काम गरेका चिकित्सक तथा कर्मचारीलाई ठूलो मात्रामा उपदानमा खर्च हुने गरेको उनको भनाइ छ । सरकारले अनुदान उपलब्ध गराएमा भने बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा सञ्चालन गर्न आफूहरु पनि तयार भएको उनले बताए । शिशु अवस्थादेखि १३ वर्षसम्मका बालबालिकाहरुको उपचार गर्ने केन्द्रीय अस्पतालको रुपमा परिचित छ सो अस्पताल । सरकारले दरबन्दीअनुसार कतिपय विषयगत कर्मचारी उपलब्ध गराउन सकेको छैन, जसले गर्दा समिति र करारबाट अस्पतालले चिकित्सक तथा कर्मचारीहरुको पूर्ति गरिरहेको छ । तर, कतिपय विषयमा काम गर्ने विशिष्ट प्रकृतिका कर्मचारी भने पुर्ती नै नहुँदा दरबन्दी नै रिक्त रहेको अवस्था छ । जसले गर्दा बिमारीहरुले अस्पतालबाट प्राप्त गर्नपर्ने केही विशिष्ट सेवा समेत प्राप्त गर्न नसकिरहेको अवस्था छ । सो अस्पतालमा विभिन्न सेवा अन्तर्गत चारसय ६६ जनाले काम गर्छन । जसमध्ये एकसय ७३ जना संघीय सेवा अन्तर्गतका कर्मचारी रहेका छन् भने एकसय ३८ जना करार र एकसय ५५ जना समिति अन्तर्गतका कर्मचारी रहेका छन् । सरकारले उपलब्ध गराउने अनुदान बाहेक अस्पतालमा हुने सम्पूर्ण खर्च अस्पतालको आन्तरिक आम्दानीबाट नै हुने गर्छ । अस्पतालको कोष कमजोर भएका कारण चिकित्सक तथा कर्मचारीलाई अतिरिक्त समय काम गराएर भत्ता दिने अवस्था अस्पतालको नरहेको बसौलाको भनाइ छ । अस्पतालको माग सुन्दैन सरकार अस्पतालको स्तरवृद्धिका लागि अस्पतालले जनशक्ति, भौतिक पूर्वाधार र साधन स्रोतको व्यवस्थाको लागि सरकारसँग लामो समयदेखि माग राख्दै आएको छ । तर, सरकारले आफूहरुको मागको कुनै सुनुवाई नगरेको निर्देशक बसौलाले बताएका छन् । सरकारले लामो समयदेखि धेरै अस्पतालहरुको जनशक्ति प्रस्ताव (ओएनएम सर्वे)लाई वेवास्ता गर्दै आएको छ । त्यसमा कान्ति अस्पतालले प्रस्ताव गरेको ओएनएम सर्वे पनि एकवर्षदेखि अर्थमन्त्रालयमा थन्किएर स्वीकृत भएको छैन । अस्पतालले पाँचसय पचास बेड सञ्चालन गर्ने भनेर जनशक्ति संरचनाको प्रस्ताव गरेको छ । निर्देशक बसौलाका अनुसार अस्पतालले लामो समयदेखि पुराना भौतिक संरचनामा रहेर सेवा प्रवाह गर्दै आएको छ, नयाँ आधुनिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ, सोही अनुसार अस्पतालले सरकारसमक्ष डिपिआर तयार गरेर पनि पेस गरेको छ, सरकारले कुनै सुनुवाई गर्दैन । ‘एक वर्षदेखि हामीले डिपिआर गरेका छौं, प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयबाट पहल गर्दा पनि अहिले बजेट हाल्न सकिएन, नयाँ निर्माणमा सरकारले बजेट नदिने भनेपछि हामी फर्केर आयौं’, उनले भने, ‘हामीले करिब नौ अर्ब ३० अर्बको प्रोजेक्ट लिएर जाँदा फिर्ता आयो ।’ उनले अस्पतालमा प्रयोग भइरहेका प्रविधि तथा सामग्रीहरु पनि पुराना भएको बताए । उनले अस्पतालको फोहोरको व्यवस्थापन पनि राम्रो गर्न नसकेको बताएका छन् । ‘अस्पतालको फोहोरको व्यवस्थापन पनि त्यति राम्रो छैन, हामीले अटो क्लियर मेसिन सेभ द चिल्ड्रेनबाट डोनेसनबाट माग्दैछौं, सरकारले दिने स्थिति छैन, बजेट छैन, धेरै गाह्रो छ चलाउन’, उनले भने, ‘सायद १०/१५ दिनभित्र मेसिन आउँछ होला ।’ बालबालिकाहरुको उपचार गर्ने रिफरल अस्पताल हो कान्ति । तर, अस्पतालमा एमआरआई मेसिन छैन । पछिल्लो समयमा मृगौलामा समस्या देखिएका धेरै बालबालिकाहरु उपचारको लागि अस्पताल आउँछन्, अस्पतालमा हेमोडाइलासिस मेसिन छैन । दरबन्दीको अभावमा अस्पतालले नाक, कान, घाँटी र आँखाको उपचार सेवा शुरुवात नै गरेको छैन । जसले गर्दा खासगरी उपचारको लागि देशभरीबाट आउने गरिब र मध्यम वर्गका परिवारवारका बालबालिका बञ्चित हुने गरेका छन् । निर्देशक बसौलाले सहयोगी निकायहरु खोजेर कतिपय सेवा सुविधाको विस्तार गर्न लागिएको बताएका छन् । एमआरआई मेसिन जापान सरकारको अनुदानमा प्राप्त हुने प्रकृया अगाडि बढेको, नयाँ सिटी स्क्यान मेसिन पनि ल्याउने तयारी भएको तर, राख्ने नयाँ ठाउँको अभाव भएको बताएका छन् । अस्पतालको जग्गामा समस्या नभएपनि सरकारबाट भवन बनाउन आवश्यक सहयोग नहुँदा समस्या भएको उनको भनाइ छ । त्यस्तै, अस्पतालले हिस्टो प्याथोलोजी ल्याबको शुरुवात गर्न लागेको उनले निर्देशक बसौलाले बताए । सो ल्याब शुरु भएपछि बोनम्यारोको जाँच र मासुको जाँच गर्नका लागि बिमारीहरुलाई बाहिर पठाउने समस्याको अन्त्य गर्न सकिने पनि उनले बताए । त्यसको लागि पनि विश्व स्वास्थ्य संगठनले सामग्री खरिद गरेर दिन लागेको छ ।
वैज्ञानिक खोज : रोग खोजी गर्न शरीरभित्रै रोबोट परिचालन गर्न सकिने
काठमाडौं । चिकित्सा क्षेत्रमा भएको नयाँ खोजले आगामी वर्षहरुमा रोगहरुको उपचार गर्ने विधि तथा पद्दतीमा रुपान्तरण ल्याउने अनुमान गरिएको छ । यतिबेला बेलायत र जापानका वैज्ञानिकहरुले रोगको अध्ययनको लागि शरीरभित्रै परिचालन गर्न मिल्ने सानो आकारको रोबोट तयार गरिरहेका छन् । जसलाई शरीरभित्रै परिचालन गरेर रोग पत्ता लगाउन सकिन्छ । ब्रिटेनको लिड्स विश्वविद्यालयको रोबोटिक्स विभागका प्राध्यापक पियत्रो भल्दस्त्रीले २० वटा विभिन्न प्रकारका न्यानोरोबोटहरुको डिजाइन गरेका छन । यी रोबोटहरुमा क्यामेर र सेन्सरको प्रयोग गरिएको छ । जसमध्ये केही रोबोटहरुमा रेडियो ट्रान्समिटर र रिसिभर समेत जडान गरिएको छ । जसको सहायताले सर्जन चिकित्सकले शरीरको भित्री भागमा रहेको गतिविधि हेरेर रोबोटलाई निर्देशन समेत दिन सक्छन् । यी रोबोटहरु यती सानो आकारका छन् की जसलाई निल्न वा सुईको सहायताले शरीरभित्र पठाउन सकिन्छ । अर्को महिना प्राध्यापक भल्दस्त्रीले डिजाइन गरेको रोबोटलाई पहिलोपटक मानव शरीरमा परीक्षण गरिने भएको छ । यो रोबोट पीडारहित कोलोनोस्कोपी गर्ने उद्देश्यले डिजाइन गरिएको हो । यसको माध्यमबाट रोगीलाई बेहोस नबनाई उपचार गर्न सकिने दाबी गरिएको छ । यसको डिजाइन गर्न प्राध्यापक भल्दस्त्रीलाई १५ वर्ष समय लागेको थियो । डा. सिल्ड्सका अनुसार रोबोट क्याप्सुलले मानिसको शरीरमा प्रतिसेकेन्ड एकसय ५० पटक फन्को मार्ने क्षमता राख्छ । वैज्ञानिहरुले मुसामा सो रोबोटको सफल परीक्षण गरिसकेको जनाइएको छ । एजेन्सीको सहयोगमा ।