उपत्यकामा एकै दिन १० वटा फार्मेसी सिल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १ सय १ वटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए । मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीलेसाँझ मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गराएको थियो । अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ । अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिई ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए । अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताए । ‘गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको ’, अर्का टोलीका संयोजक सागर दाहालले भने । छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको अनुगमनलाई निरन्तरता दिने बताए । मन्त्री बस्नेतले विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेलाई औषधि विभागमा पठाउन महानिर्देशक ढकालाई निर्देशन दिए ।
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो । जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स (जिजिपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो । म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्चमै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए । जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख्य सुधार आएको उनले बताए । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर पाँच सयभन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनको भनाइ थियो । भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रूपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण मानिन्छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामूलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान साबित हुने बताए । फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताइन् । फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैँले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्याइरहेको पनि उनले जानकारी दिइन् ।
सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ। औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको बताए । मिश्रले भने, ‘केहि फार्मेसीहरुको दर्ता प्रमाणपत्र नविकरण नभएको पाइएको छ। विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा राखिएको देखियो । त्यसता औषधिहरु स्याम्पलसहित फिर्ता लिएका छौं । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो । केही औषधि पसलमा कष्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौं। केही औषधि पसलमा औषधि पसल सञ्चालक र फर्मासिस्ट नै नभएको पनि देखियो । उहाँहरुलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन भनेका छौं ।’