लामो समयसम्म छालालाई जवानी राख्ने घरेलु उपाय
काठमाडौं । हरेक मान्छेलाई छिट्टै वृद्ध देखिन मन हुँदैन । आफ्नो छालालाई जवानी राखिरहन हर कोही मान्छेले सुन्दरताको उपचारमा निकै कोसिस गरिरहेको हुन्छ । जसको कारण एन्टी एजिङ कस्मेटिक उत्पादनहरुको मागमा पनि वृद्धि भइरहेको पाइन्छ । अनुसन्धानका अनुसार एन्टी एजिङ उत्पादनमा अधिकांश तत्व सुरक्षित रहेको छ, तर, यसको विषयमा थप अनुसन्धानको पनि आवश्यकता रहेको छ । यदि तपाईं एन्टी एजिङ कस्मेटिकमा पैसा खर्च गरिरहनु भएको छ भने आयुर्वेदमा पनि धेरै घरेलु उपायहरु छन् जसले एन्टी एजिङको काम गर्न सक्छ । तपाईंको अनुहारमा जहाँ नेर चाउरी परेको छ, त्यहाँ दैनिक रुपमा एलोभेराको जेल लगाउन सक्नुहुन्छ । जेल लगाएको २० मिनेटपछि यसलाई धुनु पर्छ । छालालाई छिटो वृद्ध हुनबाट रोक्ने यो सजिलो घरेलु उपाय हो । काँक्रा र मह मिसायर फेस मास्क बनाउन सकिन्छ । यसलाई अनुहारमा लगाएर सुकेपछि धुनुपर्छ । काँक्रोमा म्याग्नेसियम, भिटामिन ए र ई पाइन्छ । कागती र महमा पाइने निको पार्ने गुणले छालाको चाउरीपनालाई कम गर्न मद्दत पुर्याउँछ । सुख््खा छाला चिल्लो छालाको तुलनामा छिटो वृद्ध देखिन्छ । यदि तपाईंको छाला पनि सुख्खा छ भने आधा गिलास दुधमा आधा चम्चा तिल मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । १५ मिनेटपछि भिजेको कपडाले पुस्नुस । नियमित यसो गर्दा सुख््खा छालालाई नरम बनाउन मद्दत पुर्याउँछ । एन्टीअक्सिडेन्टले भरिपूर्ण मेथीले छालाको मृत कोशिकाहरुलाई हटाउन र छालामा चमक भर्न सहयोग पुर्याउँछ । यसका लाग मेथीलाई पिसेर नियमित रुपमा आफ्नो अनुहारमा लगाउन सकिन्छ । केराले कोलाजोन बढाउने र बुढ्यौली हुने प्रकृयालाई ढिलो गर्न मद्दत पुर्याउँछ । यसको लागि आफ्नो दैनिक खानामा केरालाई पनि समावेश गर्न सकिन्छ । साथै केरालाई पिसेर महमा मिसाएर अनुहारमा लगाउन सकिन्छ । सुकेपछि मनतातो पानीले धुनुपर्छ । नियमित रुपमा यस्तो गर्दा बुढेसकालसम्म छालामा युवापन रहिरहन मद्दत पुग्छ । त्यस्तै, चुरोट र रक्सी सेवन नगर्ने, धेरै चिनी नखाने र खानामा उम्रेको गेडागुडी, फलफूल, सागपात, दही, दुध, सुप जस्ता सन्तुलित खानेकुरा समावेश गर्दा पनि छालालाई राम्रो गर्छ । साथै नियमित योगा गर्नाले पनि छालालाई राम्रो बनाउँछ । एजेन्सीको सहयोगमा ।
गण्डकी प्रदेशमा मुटुरोग अस्पताल निर्माण गरिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनहिरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताए। सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उनले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताए ‘गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाता खोजिरहेका छौँ’, मुख्यमन्त्री पाण्डेले भने, ‘भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग आवश्यक छ ।’ मुख्यमन्त्री पण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक भएको बताए। ‘सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौँ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन’, उनले भने, ‘नकारात्मक त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न जरुरी छ ।’ युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अफ्ठयारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको जिकिर गर्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरामा परेका व्यक्तिलाई सहयोग गरिरहेको उल्लेख गर्दै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईले जानकारी दिए ।
स्वास्थ्य सेवा निर्देशनालयसहित कर्णाली जिल्लाका स्वास्थ्य सेवाका संरचना कायम राख्न माग
कर्णाली । कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचनासमेत कायम राख्न सरकारसँग माग राखेका छन् । प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमा स्वास्थ्य सेवा निर्देशनालयलाई मन्त्रालयमा मर्ज (गाभ्ने) भनेको छ । बजेटमै मर्ज गर्ने भनिएपछि चिकित्सक एवं स्वास्थ्यकर्मीले सरकारको यो कार्यले स्वास्थ्य क्षेत्र सङ्कुचित हुने जनाउँदै असन्तुष्टि प्रकट गरेका छन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको दायरा खुम्च्याइनुले सेवा प्रवाहको प्रत्यक्ष असर नागरिकमा पर्ने बताए। ‘महामारी, कुपोषणलगायतका विभिन्न रोगहरुको नियन्त्रण तथा रोकथाम गर्न महाशाखा एक्लैले केही गर्नसक्ने अवस्था रहँदैन’, उनले भने, ‘उनीहरुको सहजताका लागि जिल्ला तहसम्मका संरचना कायम हुनुपर्दछ ।’ सेवा विस्तारका साथै प्रभावकारी बनाउन तल्लो तहसम्मको एकाइ आवश्यक रहेको महाशाखा प्रमुख शाहीको भनाइ थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले निर्देशनालयलाई मन्त्रालयमा गाभ्ने काम गरिए त्यसले सुरक्षित मातृत्व, बाल स्वास्थ्य, रोग नियन्त्रण, महामारी व्यवस्थापन, ज्येष्ठ तथा विपन्न नागरिक, सामाजिक सुरक्षालगायतका ३१ कार्यक्रम पूर्णरुपले प्रभावित हुने बताए । ‘३१ कार्यक्रम प्रमावित हुने मात्र होइन, प्रदेशको स्वास्थ्य अवस्था नै ध्वस्त हुन्छ’, उनले भने, ‘जनस्वास्थ्य सेवालाई नियमित गर्ने काममा सरकार गम्भीर हुनुपर्छ ।’ निर्देशक डा खड्काले स्वास्थ्य सेवालाई आधारभूत, विशेषज्ञ र विशिष्टीकृत सेवाका रुपमा जनस्वास्थ्य ऐन तथा नियमावलीमै वर्गीकरण गरिएको र प्रदेश सरकारले विशेषज्ञ सेवाप्रवाह गर्ने तथा स्थानीय तहले प्रदान गर्न आधारभूत तहको स्वास्थ्य सेवा प्राविधिक सहजीकरण र समन्वय गर्न जरुरी रहेकोले ती निकायको महत्वपूर्ण भूमिका रहने उनले जनाए । उनका अनुसार प्रदेशमा छुट्टै तालिम केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालय पुनःस्थापना गर्नसमेत ध्यानाकर्षण गराइएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशमा निमित्त निर्देशक डा शङ्कर रिजालले जनस्वास्थ्य सेवालाई विस्तार गर्ने भन्दा खुम्च्याउनु कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिए। जनस्वास्थ्यसँग सरोकार राख्ने सबै सङ्घ/सङ्गठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन् ।