पेट स्क्यान गर्ने मेसिन ल्याउने तयारीमा क्यान्सर अस्पताल

चितवन । नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिएका थिए । तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेन । तर राष्ट्रपति यादवको कार्यकाल पूरा भएको झण्डै १० वर्षपछि भने यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान ल्याउनका लागि गृहकार्य सुरु गरिएको छ । अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा पेट स्क्यान मेसिन जडान गरेर स्वदेशमै सेवा दिने योजनाका साथ काम अघि बढाइएको बताए। मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको भन्दै उनले क्यान्सर रोगको पहिचान गर्नका लागि सरकारले विनियोजन गरेको रु ८६ करोड बजेटबाट अस्पतालमा पेट स्क्यान गर्ने मेसिन जडान गर्ने बताए । उनका अनुसार नेपालका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने आइसोटोप भारतबाट ल्याउने गरिएको छ । आइसोटोप उत्पादन गर्ने उपकरण साइक्लोट्रोन समेत यही जडान गर्ने अस्पतालको तयारी छ । कार्यकारी निर्देशक डा पौडेलले भने, ‘हामी आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री समेत गर्न सक्छौँ ।’ कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा नेपालका पेटस्क्यान सञ्चालन हुनसकेका थिएनन् । पौडेलले पेटस्क्यान जडानका लागि भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताए । अहिलेको ठूलो भवनको अगाडिपट्टी पेट स्क्यानका लागि भवन बनाउने तयारी गरिएको छ । भवनको नक्शाङ्कनको काम अन्तिम चरणमा पुगेको छ । यसका लागि माटो परीक्षण र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइएको डा पौडेलले बताए। अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार काठमाडौंका दुई ठाउँ र झापाको बिर्तामोडमा निजी क्षेत्रबाट पेटस्क्यान गर्ने मेसिन सञ्चालनमा छन् । यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामी शरीरमा क्यान्सर रहे नरहेकोसमेत पत्ता लगाउन उपयोगी हुने उनको भनाइ छ । हाल पेटस्क्यानकै लागि धेरै बिरामी छिमेकी देश भारत लगायतका देशमा जानुपर्ने बाध्यता छ । उपकरण जडान गरेसँगै नेपालका बिरामीले सरकारीस्तरमा स्वदेशमै यो सेवा पाउने उनको भनाइ छ । डा नेपाल पेटस्क्यान मेसिन आएसँगै क्यान्सर रोग समयमै पहिचान गरी उपचार गर्न सकिने बताउँछन्  । रासस

कान नसुन्ने बिरामीका लागि नेपाल मेडिसिटीमा ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ । कोक्लियर इम्प्लान्ट एउटा सानो, जटिल इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसहरूको श्रवण सुधार गर्न मद्दत गर्छ । पटक्कै कान नसुन्ने समस्या भएका बिरामीका लागि नेपाल मेडिसिटीले ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गरेको हो । आईतबार एक जना बिरामीको शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट गरि सेवा सुरु गरिएको हो । अस्पतालको नाक, कान, घाँटी (ईएनटी) प्रमुख प्रा. डा. तोरण केसीका अनुसार नेपालमा यो सेवा प्रदान गर्ने नेपाल मेडिसिटी पहिलो निजी अस्पताल हो र यसमा भारतका चिकित्सक डा। जे। एम। हँसले नेपाल आएर नेपाल मेडिसिटीका चिकित्सकहरुलाई सघाएका थिए । शनिबारबाट नै वीर अस्पतालले पनि कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । त्यहाँ दुई जना बिरामीको शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट गरिएको हो । यसै बीच नेपाल मेडिसिटीको पहलमा मेडिकल कलेज र ईएनटी चिकित्सकहरु बीच अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्र (भित्री कान) ले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्ने डा. केसी बताउछन् । ‘कक्लियाले काम नगरेको अवस्थामा पटक्कै कान नसुन्ने समस्या हुन्छ त्यहीकारण यो डिभाइस एक विल्कप हो,’ उनले जानकारी दिए । ‘कोक्लियर इम्प्लान्ट शल्यक्रिया गरेपछि, अर्को महत्त्वपूर्ण कुरा बिरामीलाई पुनर्स्थापना गर्नु हो किनभने शल्यक्रिया गरेपछि अर्को दिन व्यक्तिले सुन्न सक्दैन, यसले समय लिन्छ । त्यसैले सामान्यतया दुई देखि तीन हप्ताको शल्यक्रियापछि हामी मेसिन अन गर्छौं र त्यहाँ पुनस्र्थापनाको सम्पूर्ण प्रक्रिया हुन्छ, जसमा उनीहरूलाई श्रवण थेरापी दिइनेछ,’ डा. केसीले भने । डा. केसीका अनुसार कक्लिया बिग्रियो भने व्यक्तिको श्रवणशक्ति हराउँछ र कान सुन्न सकिँदैन् । जन्मजात बहिरा भएका र समयसँगै श्रवणशक्ति गुमाउनेहरूको लागि कोक्लियर इम्प्लान्ट गरिन्छ । उनले श्रवणशक्तिका साथ जन्मेकाहरूका लागि जन्मेको एक वर्षभित्रको शल्यक्रियाको लागि उपयुक्त समय रहेको बताए । कक्लिया बिग्रनुमा विभिन्न कारण छन् । कुनै वंशाणुगत हुन्छ भने कुनै जन्मजात राम्रोसँग विकास हुँदैन् । कतिपय अवस्थामा विभिन्न खालका संक्रमणले कक्लियामा समस्या ल्याउँछ । सुत्केरी समयमा, बच्चामा अक्सिजनको मात्रा नपुग्ने जस्तो अवस्थामा कक्लियामा क्षति पुग्नसक्छ साथै बढी ज्वरो आउने, उच्च जन्डिस हुने, मेनेन्जाइटिस हुने जस्ता कारणले कक्लियामा क्षति पुगेको अवस्थामा व्यक्तिले सदाका लागि कान नसुन्न सक्छ ।

चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजार भन्दा बढी मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्य सहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ । क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी   एन्जीयोप्लास्टीक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो । मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उनले जानकारी दिए । डा रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको रु एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् । चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उनले जानकारी दिए। डा रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताए । उनले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट समेत बिरामी आउने गरेको बताए। राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति यहाँ रहेको जिकिर गर्दै उनले भने, ‘हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ । अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथल्याब पनि छ ।’ हिँड्दा छाती दुख्ने, छाती भारी हुने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिए। मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताए । मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सक डा रेग्मी परिचित भएकाले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको उनको भनाइ थियो । विगत दस वर्षमा मुटुको शल्यक्रियाको सङ्ख्या धेरै भएको र  पछिल्लो तीन वर्षमा यो सङ्ख्या अत्याधिक बढेको थियो । प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘विदेश जाने बिरामीलाई सोही स्तरको सेवा हामीले दिन सकेका छौँ ।’ रासस