डाक्टरहरुले गरे देशभरका अस्पतालमा ओपीडी सेवा बन्द

काठमाडौं । डाक्टरहरुले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै डाक्टरहरुले विरोध स्वरुप ओपीडि सेवा बन्द गरेका हुन् । नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले कुटपिट गरेका थिए ।

काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोेथेरापी सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिवार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन् । आयुर्वेदसम्बन्धि नेपाली र चिनियाँ पुराना उपचार विधि समेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिनुभयो । सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयल थेरापी पनि गरिन्छ । सेन्टरका अपरेशन तथा मार्केटिङ विभाग प्रमुख सुवालले भन्नुभयो,‘यो फिजियोथेरापी आफैँमा एउटा शारीरिक, मानसिक मात्र नभई आध्यात्मिक रुपमा पनि फलीफाप हुने गरी सबै मान्छेलाई फाइदाजनक हुनेछ । नेपालका थुप्रै राम्रा फिजियोथेरापीहरु छन् । तर, यसमा चाँही फिजियोथेरापी मात्रै नभईकन एउटा आयुर्वेदिक ट्रिटमेन्ट, एन्सियन्ट चाईनिज ट्रिटमेन्ट टाईप अनि हाम्रो हिन्दु शास्त्रकै पुरानो ट्रिटमेन्ट टाईपहरुलाई चाहिँ सम्मिश्रण गरेर एउटै स्पेशमा हामीले शुरु गरिराखेका छौं । हामी आयुर्वेदिक आयल थेरापी पनि गर्छौं ।’ सेन्टरले आफ्नो सेवा लिएबापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ । सेन्टरका अनुसार यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरु मध्ये सबै भन्दा सस्तो हो । यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ ।

डेढ करोडको लागतमा बिरामी कुरुवा घर निर्माण

खजुरा (बाँके) । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा कुरुवा घरको निर्माण गरिएको हो । कुरुवा घर निर्माण गर्न लायन्स इन्टरनेशनको एक करोड ११ लाख ५६ हजार तथा अस्पतालको ३७ लाख ६५ हजार रुपैयाँ  खर्च  भएको लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । भवन बनेपछि उपचारका लागि आउने बिरामीका कुरुवालाई सहज हुनेछ । ‘खासगरी जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ, कुरुवा घर निर्माणपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने । कुरुवा घरमा १५ कोठा रहेका छन् । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । लिन्याक मेसिन विकीरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने उपकरण हो । करिब २७ करोड रुपैयाँको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान, घाँटीलगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सरको उपचार गर्न मद्दत पुग्छ । अहिले उक्त मेसिनको सेवा लिन बिरामी भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने हुन्छ । अस्पतालमा हाल २० विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । एक सय श्ययाको स्वीकृति पाएकामा अस्पतालले हाल ५७ श्ययामार्फत सेवा दिइरहेको छ ।रासस